Logo

अर्थ

मलमा अनुदान कटाैती गर्ने सरकारको निर्णय भारतीय कृषि उपजको आयात बढाउन उद्यत : एमाले



काठमाडौं । नेकपा एमालेले रासायनिक मलमा दिँदै आएको अनुदान घटाउने सरकारको निर्णयको विरोध गरेको छ । एमालेले अनुदान घटाएर किसानलाई गरिएको मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको छ ।

एमालेको कृषि तथा पशुपन्छी विकास विकास विभागले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अनुदान कटौतीको निर्णयबाट सरकार स्वदेशी उत्पादनलाई निरुत्साहित गरी भारतीय कृषि उपजको व्यापार बढाउन उद्यत रहेको स्पष्ट हुन्’, विज्ञप्तिमा भनिएको छ । यसले कृषि उपजमाथिको परनिर्भरता बढाउनेतर्फ सरकार लागिपरेको भन्दै एमालेले तत्काल पुरानै मूल्यमा खरिद गर्ने व्यवस्था मिलाउन माग गरेको छ ।

सरकारको निर्णयानुसार युरियामा प्रतिकेजी ११, डीएपीमा ७ र पोटासमा ९ रुपैयाँ मूल्य वृद्धि भएको छ । यसको मार नेपाली किसानमा परेका एमालेको ठहर छ । एकातिर भारतबाट ठूलो मात्रामा कृषि उपजको आयात हुने र अर्कोतिर रासायनिक मलको मूल्य वृद्धि गर्दा उत्पादन लागत झन् बढ्न जाने र यसले किसानलाई निरुत्साहित गर्ने एमालेको टिप्पणी छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य घट्दै गएको जनाउँदै एमालेले मलको अभाव खेपिरहेका किसानलाई थप समस्यामा नपार्न सरकारसँग माग गरेको छ ।

यसअघि सरकारले फागुन २६ गते रासायनिक मलमा किसानलाई दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो । जसले गर्दा किसानलाई रासायनिक मल महँगिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आईतवार १५:५०   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।