Logo

खेलकुद

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल : लाओसमाथि नेपालको शानदार जित



काठमाडौं । आयोजक नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको पहिलो खेलमा लाओसविरुद्ध नेपालले २–० गोल अन्तरको शानदार जिन निकालेको हो ।

नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक एक गोल गरे । खेलको ३० औं मिनेटमा अनन्तले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । नविन लामाको कर्नरमा अनन्तले हेडरमार्फत उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । अनन्तको यो नेपालका लागि तेस्रो गोल हो ।

त्यसपछि खेलको ५६ औं मिनेटमा नवयुगले गोल गर्दै नेपाललाई २–० को जित दिलाए । कप्तान किरण चेम्जोङको लामो पासमा करिब ३० यार्डबाट बल नियन्त्रणमा लिँदै नवयुगले उत्कृष्ट गोल गरे । नेपालका लागि उनको यो आठौं गोल हो ।

खेलमा नेपालका अनन्त म्यान अफ दि म्याच चुनिए । जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ । र, नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । अब लाओसले चैत ११ गते भुटानसँग खेल्नेछ । त्यस्तै चैत १४ गते नेपालले भुटानसँग खेल्नेछ ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार २१:३६   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।