Logo

समाचार

एयर इण्डियालाई प्राधिकरणले पठायो पत्र



काठमाडाैं । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल झारेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर इण्डियालाई पत्राचार गरेको छ । गत शुक्रबार नयाँ दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि बिनाअनुमति १९ हजार फिटमाथि उडान भरिरहेको एयर इण्डियाको जहाज अचानक १५ हजार फिटमा झरेको थियो ।

सोही समयमा मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आउँदै गरेको नेपाल एयरलाइन्सको जहाजसँग झण्डै ठोक्किन पुगेको थियो । लगत्तै नेपाल एयरलाइन्सको जहाजले उचाइ लिएपछि सम्भावित दुर्घटना टरेको थियो । सोही विषयमा छानबिन गरी कारबाही गरेको ब्यहोरा प्राधिकरणलाई पठाउने सन्देशसहित एयर इण्डियालाई पत्राचार गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

“एयर इण्डिया र नेपाल एयरलाइन्सबीच भएको उक्त घटनाको विषयमा छानबिन गरी आवश्यक कारबाही गर्न र त्यसको जानकारी प्राधिकरणलाई गराउन भन्दै पत्राचार गरेका छौँ”, उनले भने । उक्त घटनाका सम्बन्धमा छानबिन समिति गठन भएको र घटना भएको समयमा टावरमा रहेका एटिसीलाई ‘एक्टिभ पोजिसन’ मा रहेर काम गर्न रोक लगाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आईतवार १९:३०   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।