Logo

समाचार

नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः सभामुख घिमिरे



काठमाडौं । प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण रहेको बताएका छन् । नेपाल नेत्रज्योति संघको ४५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बाधेन गर्दै उनले यस्तो बताएका हुन् ।

‘सन् १९८१ मा ०.८४ प्रतिशत रहेको नेपालको अन्धोपनाको स्थिती अहिले घटेर ०.२८ प्रतिशतमा झरेको छ नेपालको यो उपलब्धिको प्रमुख र महत्वपुर्ण हिस्सेदारका रुपमा मैले नेत्रज्योति संघलाई मानेको छु’ उनले भने, ‘नेपालको आखाँ स्वास्थ्य क्षेत्रमा संघले खेलेको भुमिकाको जति प्रशंसा गरेपनि कमै हुन्छ’ ।

कुखुरा र माछाको उदाहरण दिँदै सभामुख घिमिरेले कुखुरले जसरी एउटा अण्डा पार्दा पनि गाँउ नै हल्लिने गरी हल्ला गर्छ तर माछाले पानी भित्र हजारौ अण्डा पार्दा समेत कसैले थाँहा पाउदैनन त्यसरी नै संघले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा काम गरिरहेको बताए ।

नेपाल नेत्रज्योति संघ विगत ४५ वर्षदेखि नेपाली जनताहरुलाई सस्तो, सुलभ र गुणस्तरिय आँखा उपचार सेवा जनताको घर आगनमै पुर्याउदै नेपालको अन्धोपन न्यूनिकरणमा क्रियाशील एक मुनाफारहित, गैरसरकारी विशुद्व सामाजिक संस्था हो ।

वि.सं. २०३५ साल चैत्र १३ गते आजैका दिन समाजका विभिन्न क्षेत्रका बिशिष्ट समाजसेवीहरु तथा प्रा.डा रामप्रसाद पोख्रेल ‘आँखा बा’ को सामूहिक प्रयासबाट स्थापना भएको यस संघले देशका (लगभग ९० प्रतिशत) नेपाली नागरिकमा सस्तो, सुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

नेपाल सरकारबाट आँखा उपचार सेवा देशका सबै जनताको घरदैलोमा पु¥याउने दायित्व र निर्देशन प्राप्त भए अनुरुप नेपालको सबै क्षेत्रहरुलाई समेटने गरी २७ आँखा अस्पतालहरु, १५० भन्दा बढि आँखा उपचार केन्द्रहरु तथा ४४ जिल्ला शाखाहरु मार्फत यसले सेवा प्रवाह गरिरहेको छ ।

यस वर्ष नेत्रज्योति दिवसको नारा “हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी” भन्ने रहेको छ । यस नारालाई साकार पार्न संघले विभिन्न कार्यक्रमहरु तय गरेको छ । नेपालको संविधान २०७२ ले स्वास्थ्यलाई नागरिकको मौलिकहकको रुपमा उल्लेख गरेको तथा विश्व स्वास्थ्य संगठनले आँखा स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्य सेवाको रुपमा ग्रहण गरेको सन्दर्भमा, सार्वजनिक निजी साझेदारीको अवधारणा बमोजिम उपलव्ध श्रोत र साधनको अधिकतम परिचालन गरी हालसम्म प्राप्त उपलव्धिहरुलाई संरक्षण गर्दै राष्ट्रिय आँखा स्वास्थ्य रणनितीलाई समेत आत्मसात गर्दै आँखा उपचार सेवालाई हरेक स्थानिय निकायहरुसम्म पुर्याउने लक्ष्य लिएको छ ।

नेपाल नेत्रज्योति संघले नेत्रज्योति दिवसको अवसरमा संघको अन्धोपन निवारण गर्ने उद्देश्य प्राप्तिमा विशेष योगदान दिने चौधरी दाता परिवारलाई ‘बिशिष्ट नेत्रज्योति सम्मान’ बाट सम्मनित गरिएको छ । साथै नेपालमा आँखा उपचार सेवाको विस्तार र अन्धोपन न्यूनिकरणमा सहयोग गर्ने सेवा फाउन्डेसन, सेवा क्यानडा सोसाईटी र दुहवी नगरपालिकालाई पनि ‘बिशिष्ट नेत्रज्योति सम्मान’ बाट सम्मानित गरिएको छ ।

त्यस्तै नेपालमा आँखा स्वास्थ्य सेवाको विस्तार गरि अन्धोपन न्युनिकरण गर्ने योजनामा विशेष योगदान गर्नुहुने नेपाल नेत्रज्योति संघका लुम्बिनी प्रदेश सभापति तथा रुपन्देहि शाखाका निवर्तमान सभापति सागरप्रताप राणा, नेत्र ज्यातिसंघ चितवन शाखाका पुर्बसभापति एबं केन्द्रिय सदस्य चिजकुमार मास्के, नेत्रज्योति संघ कैलाली शाखाका पुर्बसभापति शिवदत्त जोशी, नेत्रज्योति संघ फत्तेबाल आँखा अस्पताल नेपालगंजका पुर्व मेडिकल डाईरेक्टर बरिष्ठ नेत्ररोग बिशेषज्ञ डा.बासु अधिकारी र नेत्रज्योति संघ रणअम्बिका शाह आँखा अस्पताल भैरहवाका पुर्व मेडिकल डाईरेक्टर बरिष्ठ नेत्ररोग बिशेषज्ञ डा. सुदर्शनप्रसाद धिताललाई ‘लाईफटाइम एचिभ्मेन्ट अवार्ड’ बाट सम्मानित गरिएको छ ।

त्यस्तै २५ बर्षदेखि निरन्तर नेपाल नेत्रज्योति संघ र यस अन्तरगतका अस्पतालमा रहि कार्य गर्दै आएकोले संघका आँख स्वास्थ्य कार्यकर्ता श्री गोबिन्द शर्मालाई दीर्घ सेवा पदक प्रदान गरिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार ११:४५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।