Logo

खेलकुद

विश्वकप छनोट प्लेअफ : क्यानडा र अमेरिका तथा नामिबिया र पीएनजी भिड्दै



काठमाडौं । नामिबियामा जारी आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगितामा आज (बुधबार) दुई खेल हुँदैछ । नामिबियाको विन्डोकमा रहेको वन्डुरस र युनाईटेड क्रिकेट मैदानमा समान १/१ खेल हुँदैछ ।

वन्डुरस क्रिकेट मैदानमा हुने खेलमा क्यानडा र अमेरिकाबीच खेल हुँदैछ । प्रतियोगितामा दोस्रो खेल खेल्न लागेका दुवै टोली अपराजित यात्रा कायम राख्न चाहन्छन् । क्यानडा आजको खेलमा विजयी भए एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउन लगभग तयार हुनेछ । अमेरिका भने विश्वकप छनोटमा आफ्नो स्थान बनाउन जित निकाल्न चाहन्छ ।

आज नै हुने अर्को खेलमा नामिबिया र पपुवा न्युगिनी (पीएनजी) खेल्दै छन् । खेल युनाइटेड मैदानमा हुनेछ । दोस्रो खेल खेलिरहेका दुवै राष्ट्र पहिलो जितको खोजीमा रहेका छन् । पीएनजी आजको खेलमा जित हात पारेर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायमै राख्ने सम्भावना जीवित राख्न चाहन्छ । नामिबिया भने पहिलो जित सहित विश्वकप छनोटमा स्थान बनाउने सम्भावना जीवित राख्न चाहन्छ ।

दुवै खेल नेपाली समय अनुसार दिउँसो सबा १ मा सुरु हुनेछ । प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्लेअफमा आईसीसी विश्वकप लिग टू का पुछारका चार टोलीसँगै आईसीसी विश्वकप च्यालेन्ज लिग ए र बी का विजेता राष्ट्रहरुको सहभागीता रहेको छ ।

लिग टू मा नामिबिया चौथो, अमेरिका पाँचौं, युएई छैटौं र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा रहेका छन् । प्लेअफमा च्यालेन्ज लिग ए र बी का विजेता जर्सी र क्यानडा पनि रहेका छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । विश्वकप छनोट खेलका लागि नेपाल भने छनोट भइसकेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार ११:४४   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।