काठमाडौं । प्रतिनिधिसभा सदस्य मञ्जु अन्सारीले पद तथा गाेपनीयताकाे शपथ लिएकी छन् । सभामुख देवराज घिमिरेले सिंहदरबारमा आज (आइतबार) अन्सारीलाई शपथ ग्रहण गराएका हुन् ।
समानुपातिक निर्वाचन प्रणालीअनुसार जसपा नेपालको समावेसी समूह, मुस्लिम–महिलामा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त पदमा जसपाले अन्सारीको नाम सिफारिस गरेको थियो । निर्वाचन आयोगले चैत ६ गते अन्सारीलाई प्रतिनिधिसभा सदस्य निर्वाचित गरेको घोषणा गरेको थियो ।
२०२० सालमा नेपालगन्ज– १३ मा बुवा नवीनन्द्र शर्मा र आमा शान्ता शर्माको कोखबाट जन्मिएकी अन्सारी तीन दशकदेखि सक्रिय राजनीतिमा छिन् । २०४६ सालमा तत्कालिन नेपाल सदभावना पार्टीबाट राजनीति सुरु गर्नुभएकी अन्सारीले पार्टी निकट सदभावना महिला मञ्चको केन्द्रीय अध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरेकी थिइन् । उनले २०५६ सालमा सदभावना पार्टीबाट रौतहट क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा गरेकी थिइन् ।
२०६४ सालमा भएको मधेस विद्रोहमा सहभागी भएकी अन्सारी उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमबाट २०६४, २०७० र २०७४ सालमा समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचीमा रहेका थिए । उनी मधेसी जनअधिकार फोरमको केन्द्रीय सदस्य, उपत्यका ईञ्चार्ज हुँदै अहिले जनता समाजवादी पार्टीको पोलिटब्यूरो सदस्य छिन् ।
शपथपछि अन्सारीले प्रतिनिधिसभा सदस्यका रुपमा आफूले राज्यप्रति इमान्दारितापूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएकी छन् ।




















प्रतिक्रिया