काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई विजयी गराएर पठाउन आग्रह गरेका छन् । आज (सोमबार) तनहुँमा आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले तनहुँको माटोले चिनेको र तनहुँलाई चिनेको उम्मेदवार भट्टराई भएकोले उनलाई जिताएर संसदमा पठाउन आग्रह गरेका हुन् ।
भट्टराईले पार्टीभित्रका नयाँ र पुराना नेताहरूलाई जोड्न सक्ने र गठबन्धन दलहरूलाई पनि साथसाथै लैजान सक्ने थापाको तर्क छ । उनले अन्य टुरिष्ट उम्मेदवारलाई कांग्रेसको प्रभावबारे बुझाइदिन पनि मतदाताहरुसँग आग्रह गरे ।
‘यहाँ घुम्दाघुम्दै आउने टुरिष्ट उम्मेदवारलाई यो पटक तपाईंहरूले भन्नुपर्छ– तनहुँको निर्वाचन क्षेत्र अरू ठाउँजस्तो होइन। यहाँको कांग्रेस भनेको चोकमा राखेको मादलजस्तो होइन, जसले आयो त्यसले बजाउँदै हिँडने,’ थापाले भने।
महामन्त्री थापाले गोविन्दराज जोशीलगायतसँग पनि कुराकानी गरेर पार्टीलाई एकढिक्का बनाउँदै लगिने बताए । गत मंसिरमा चुनाव जितेका तत्कालीन कांग्रेस नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाएकोमा धन्यवाद दिन पनि भट्टराईलाई उपनिर्वाचनमा शानदार मतले जिताउनुपर्ने थापाको भनाइ थियो ।
उनले कांग्रेसले परिणाम दिने गरी काम गरेन भने अर्को चुनावमा मतदाताले दण्ड दिन सक्ने बताए । ‘तनहुँ १ मा परिस्थितिले अहिले उपनिर्वाचन भएको हो। मंसिर ४ मा यो क्षेत्र कांग्रेसले जितेको थियो,’ उनले भने, ‘रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि यो क्षेत्र रिक्त हुन पुग्यो। यो क्षेत्र कसैका लागि प्रयोग गर्न खाली भएको होइन।’




















प्रतिक्रिया