Logo

अनलाइनपाना खोज

ऋणीको घरमा एनआईसी बैंकको सुरक्षा गार्ड, बन्धक बनाएर स्वतन्त्रताको हक खोसेको पीडितको आरोप



काठमाडौं । एनआईसी एशिया बैंकले किस्ता बुझाउन ढिलाइ गर्ने ऋणीको घरमै सुरक्षा गार्ड पठाएको छ । कारणबस केही महिना कतिस्ता नतिर्दैमा घरमै सुरक्षा गार्ड पठाएर आफूहरुलाई बैंकले बन्धक बनाएको र स्वतन्त्रपुर्वक बाँच्न पाउने हकबाटसमेत बञ्चित गराएको ऋणीहरुको आरोप छ ।

बैंकले इटहरीका विक्रम तिम्सिना (विक्रम श्री) को घरको गेटमा सुरक्षा गार्ड तैनाथ गरेको छ । उनले बैंकबाट लिएको ऋणको सावाँ–व्याज नतिरेपछि धितो राखेको घर जग्गाको लिलामीका लागि बैंकले सूचना जारी गरेको छ । सार्वजनिक सूचनासँगै घरको गेटमा सेक्युरिटी गार्ड पठाइएको विक्रमले बताए ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्, ‘मेरो घर अगाडि उभिएको ड्युटी जवान नेपाल प्रहरी नभएर एनआईसी एशिया बैंकले सेक्युरिटी गार्ड रहेको जानकारी गराउँछु ।’ उनले आफूले समयमा किस्ता बुझाउन खोज्दाखोज्दै पनि काम गरेको पैसा समयमा नउठ्नु, भ्रष्ट कर्मचारी र दलाल ठेकेदारहरूका कारण काम लिन र सम्पन्न गर्न सहजता नहुनु र देशमै आएको आर्थिक मन्दीका कारण नसकेको भन्दै गुनासो गरेका छन् ।

कालकार श्रीले आफूले समयमा किस्ता तिर्न नसकेपछि बैंकका कर्मचारीले बोलाउने र फोटो खिच्ने गरेको बताए । किन फोटो खिचेको भन्दा हामीले ऋणीलाई भेटेको प्रमाण पठाउनु पर्छ भन्दै मानसिक यातना दिएको पनि उल्लेख गरेका छन् ।

उनले धेरैजना कर्मचारीबाट एकै दिन धेरै कल आएको र घर तथा कार्यक्षेत्रमा नै भेट गरी ताकेता गरिएको समेत बताउँदै लेखेका छन्, ‘सहानुभूतिभन्दा हतोत्साहित बनाउने वातावरण रचना गरिनु, ऋणीको बाध्यता र परिस्थिति प्रत्यक्ष देखेर अनुभव गरेर पनि बारम्बार यस्तो दोहोरिनुले सबैलाई दुःखित बनाएको छ ।’ आफ्नो नारा ‘बैंक पनि साथी पनि’ सम्झन आग्रहसमेत विक्रम श्रीले गरेका छन् ।

यसैगरी किस्ता नबुझाएको भन्दै झापाको दमक नगरपालिका वडा नम्बर ५ का दुर्गाप्रसाद कँडेलको घरमा पनि एनआईसी बैंकले सुरक्षा गार्ड खटाएको थियो । त्यहाँ बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म गार्ड तैनाथ गरिएको थियो । सामाजिक सञ्जालमा विरोध भएपछि कँडेलको घरबाट गार्ड हटेका छन् ।

३ महिनादेखि कँडेलले बैंकको सावाँ तथा व्याज तिरेका थिएनन् । खाएपछि समयमा तिर्नु पर्दैन भनी बैंकका कर्मचारीले अपमानजनक शब्द बोल्ने गरेकोसमेत कँडेलकी श्रीमती चन्द्रकलाले बताइन् ।

४ दिन पहिले बैंकले जति हुन्छ त्यति रकम लिएर आउनु भनेको र आफूले १० हजार रूपैयाँमात्र लगेर जम्मा गरेको कँडेलले बताए । ‘४ दिन अगाडि बैंकले जति हुन्छ त्यति पैसा लिएर आउनु भन्याे । मसँग भएकाे १० हजार रूपैयाँमात्र लगेर जम्मा गरेँ’, कँडेलले भने, ‘पैसा जम्मा गरेर घरमा आइनपुग्दै बैंकले धितो सुरक्षा गर्न भन्दै सुरक्षा गार्ड खटायाे ।’ १ करोड रूपैयाँ ऋण लिएकोमा अब साँवा ब्याज गरेर ९७ लाख रूपैयाँ तिर्न बाँकी रहेको कँडेलले बताए ।

चाहेर पनि समयमा किस्ता तिर्न नसक्दा बैंकले चिठ्ठी काट्ने, सूचना टाँस्ने र लिलामीको प्रक्रिया गर्नुपर्नेमा घरमै गार्ड पठाएर आफूहरुलाई बन्धक बनाउँदा स्वतन्त्रपूर्वक बाँच्न पाउने हकबाटसमेत आफूहरु बञ्चित भएको कडेँल परिवारको गुनासो छ ।

भिडियाे :-

एआईसी बैँकका दमक शाखा प्रबन्धक तीर्थ प्रधानले ऋणीको घरमा बैँकले सुरक्षागार्ड खटाएको बताउँदै यसको जिम्मेवार बैँकको केन्द्रीय समिति हुने बताए । ‘ऋणीको घरमा सुरक्षा गार्ड खटाइएको हो’, उनले भने, ‘यसबारे सबै जिम्मेवारी केन्द्रीय समितिले लिन्छ । मलाई अरु अरु कुरा थाहा छैन ।’

तर यता एनआईसी बैंक (केन्द्र)का मुख्य गुनासो व्यवस्थापन अधिकारी अर्जुन खनियाँले पनि यसबारे स्पष्ट जवाफ दिएनन् । ‘ऋणीको घरमा सुरक्षा गार्ड खटाइएको विषयमा मलाई पनि त्यत्ति जानकारी छैन’, उनले अनलाइनपानासँग भने ।

नेपाल राष्ट्रिय बैँकका प्रवक्ता गुणाकर भट्ट यो गलत भएको बताउँछन् । कुनैपनि बैँकले यसरी ऋणीको घरमा सुरक्षागार्ड राख्नु केन्द्रीय बैँकको नीति विपरित हुने उनको भनाइ छ । ‘बैंकले त्यसरी कुनै ऋणीको घरमा गार्ड लगेर राख्न पाउँदैन’, प्रवक्ता भट्टले अनलाइनपानासँग भने । उनका अनुसार यसबारे पीडितले गुनासो शाखामा उजुरी हालेमा कारबाही हुन्छ । ‘गुनासोमा हाल्न लगाउनुस् । त्यसपछि गुनासो शाखाले तुरन्तै कारबाही प्रक्रिया अघि बढाउँछ’, उनले भने ।

प्रकाशित मिति : चैत्र २५, २०७९ शनिबार  १ : ०७ बजे

8.718k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।