Logo

खेलकुद

ओलम्पिक महिला छनोट : नेपालमाथि भियतनामको जित



काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपाल भियतनामसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार नेपाललाई भियतनामले ५–१ गोल अन्तरले हराएको हो ।

भियतनामको जितमा कप्तान हुन्ह न्हुले दुई गोल गरिन् । यस्तै फाम हाइ यन, एनगुएन थि बिच थुए र एनगुएन थि नाले एक एक गोल गरे । नेपालका सावित्रा भण्डारीले एक गोल फर्काइन् ।खेलको

११ औं मिनेटमा फाम हाइ यनले गोल गर्दै भियतनामलाई सुरुआती अग्रता दिलाएकी थिइन् । एनगुएन थि बिच थुएको क्रसमा यनले सहजै गोल गरिन् । खेलको ३६ औं मिनेटमा कप्तान हुन्ह न्हुले पेनाल्टीमार्फत गोल गर्दा भियतनामले २–० को अग्रता बनायो ।

कप्तान न्हुकै प्रहारमा नेपालकी समिक्षा घिमिरेले ह्यान्डबल गरेपछि भियतनामले पेनाल्टीको अवसर पाएको थियो । ३८ औं मिनेटमा एनगुएन थि बिच थुएले गोल गरेपछि पहिलो हाफमा भियतनाम ३–० ले अघि रह्यो ।

दोस्रो हाफमा भियतनामले थप दुई गोल गर्यो । नेपालले पनि एक गोल फर्कायो । खेलको ४८ औं मिनेटमा थि लोनको क्रसमा कप्तान न्हुले हेडरमार्फत गोल व्यक्तिगत दोस्रो गोल गरेपछि भियतनाम ४–० ले अघि रह्यो ।

खेलको ७९ औं मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई ४–१ को स्थितिमा ल्याए । सरु लिम्बुको चलाखीपूर्ण पासमा सावित्राले दुई डिफेन्डरलाई पछि पार्दै गोल गरिन् । त्यसपछि खेलको इन्जुरी समयमा एनगुएन थिले गोल गर्दै भियतनामलाई ५–१ को जित दिलाईन् ।

छनोटको समूह ‘सुी’ मा रहेको नेपालले अब शनिबार भियतनामसँग दोस्रो खेल खेल्नेछ । प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल र भियतनाम मात्र रहेको हो । समग्रमा अघि रहने टोलीले यस समूहबाट दोस्रो चरणमा स्थान बनाउने छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार २०:०५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।