काठमाडौं । बिश्व महामारीको रुपमा कोरोना प्रकोप देखिन थालेपछि बिगत ७ महिनादेखि देशका सम्पूर्ण शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द छन् । यस्तो बेलामा केही संभ्रान्त बिद्यालयमा अध्ययन गरिरहेका बिद्यार्थीले अनलाइन मार्फत कक्षा लिएको बताईए पनि त्यस्तो कक्षा औपचारिकता पुरा गर्न मात्र चलाईएकोले प्रभावकारी नभएको गुनासो एकातिर छँदैछ, अर्कोतिर धेरै विद्यार्थीहरु अनलाइन कक्षाको पहुँचमा समेत छैनन् । जसले गर्दा अभिभावकहरुमा चिन्ता थपिएको छ ।
एकातिर अभिभावकलाई आफ्ना बालबालिकाहरुलाई अध्ययन गराउँन नपाउँदाको पिडा छ भने विद्यालयहरुले बारम्बार मासिक शुल्क रकम तिर्न दबाब दिएपछि अर्को तनाब बढेको छ । विद्यालयहरुले आफ्ना शिक्षक, कर्मचारीलाई तलब र मासिक घर जमिन भाडा तिर्न कठिनाई भएर अभिभावकलाई आग्रह गरेको दाबी गरेपछि केही समय विद्यालय बन्द हुँदैमा यति कठिन हुने भए यत्रो वर्ष कमाएको रकम चाहीँ कहाँ गयो भन्ने बहस पनि एकातिर छ ।
विद्यालय र अभिभावकहरुमा एक प्रकारको बहस हुँदै गर्दा काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा रहेको त्रुङ्ग्राम ईन्टरनेशनल एकेडेमी (टिआईए) मा भने माथीको बहस भन्दा अनौठो हर्कत देखिएको छ । यस एकेडेमीले महामारीको प्रकोपलाई कमाउँने अवसरको रुपमा प्रयोग गरेको पाईएको हो ।
अमेरिकामा रहेका धर्मगुरुको रुपमा चिनिएका त्रुङ्ग्राम ग्याल्त्रुन रिन्पोछे संस्थापक अध्यक्ष रहेर सन् १९९२ मा स्थापना भएको यस विद्यालयमा चालु शैक्षिक सत्रमा ६७१ जना विद्यार्थीहरु अध्ययनरत छन् भने अध्ययन गराउँने र नगराउँने गरेर कुल ९० जना शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् । यति धेरै दायित्व बोकेको यो स्कुलले महामारीको समयमा पनि अभिभावबाट महामारी सुरु हुनु भन्दा अगाडिकै दरमा मासिक शुल्क उठाई रहेको छ भने आफ्ना शिक्षक तथा कर्मचारीलाई भने व्यापक रुपमा शोषण गरिरहेको पाइएको छ ।
यसका संस्थापक अध्यक्ष मार्फत बिदेशबाट सहयोग रकम समेत लिने गरेको विद्यालयले संभ्रान्त स्तरकै मासिक शुल्क असुल्ने गरेको छ । विद्यालयले कोरोना महामारीको समयमा पनि अभिभावकबाट शत प्रतिशत रकम लिई रहेको छ तर अध्यापनरत शिक्षकहरुले तलवको ५० प्रतिशतमा चित्त बुझाउँनु परेको छ भने अध्यापन बाहिरका कर्मचारीहरुलाई महामारी यताको तलब नै नदिएको खुलेको छ ।
अन्य शैक्षिक संस्थाहरुमा प्रिन्सिपललाई संस्थापक वा लगानीकर्ताको रुपमा चिनिन्छ तर यस विद्यालयमा अध्यक्ष बाहेक सबै जना कर्मचारीकै रुपमा कार्यरत छन् । विद्यालयले यस्ता कर्मचारीहरुलाई महामारीको समयमा ४० देखि ५० प्रतिशतसम्म मात्र तलब दिएको छ ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष रहेका कर्मा क्षिरिङ शेर्पासँग प्रतिक्रिया माग्दा माथी उल्लेखित सबै झुट भएको दावी गरे । उनले अध्यापनमा संलग्न बाहेकका कर्मचारीहरुलाई तीन तीन महिनाको तलब दिएर बेतलबी बिदा दिएको बताए भने शिक्षकहरुले नियमित तलब पाई रहेको बताए ।
विद्यालयमा महामारीको समयमा आफ्नो व्यक्तिगत रकम २/३ करोड घर भाडा तिर्दैमा सकिएको, शिक्षक कर्मचारीलाई खुसी राखेकोले कसैको गुनासो नरहेको र बाहिर मात्र अनावश्यक हल्ला फैलाईएको उनको दाबी रहेको थियो ।
अध्यक्ष शेर्पाले यस्तो दाबी गरिरहे पनि यो समाचार तयार पार्दासम्म अध्यापन बाहिरका कर्मचारीहरुको बैंक खातामा रकम पुगेको देखिएको छैन । बरु यस्ता कर्मचारीहरुलाई बोलाएर सम्झाउँने तथा धेरै बोलेमा पछि जागिर निरन्तर नहुने चेतावनी दिदै थर्काएर पठाउँने गरेको भित्री श्रोतले दावी गरेको छ ।
यस विद्यालयको मुख्य व्यवस्थापक संस्था संयुक्त त्रुङ्ग्राम बौद्ध मण्डली हो । यसका नेपाल लगायत अमेरिका, मलेशिया, सिंगापुर र जर्मनीमा केन्द्रहरु स्थापना गरेर शैक्षिक गतिविधि सञ्चालित छन् ।




















प्रतिक्रिया