Logo

अर्थ

सर्वाेच्चद्वारा रिट खारेज, नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरणको बाटो खुल्यो



काठमाडाैं । धितोपत्र बजारको नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरणका लागि नेपाल धितोपत्र बोर्डलाई बाटो खुलेको छ । सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरणमा रोक लगाउन माग गर्दै परेको रिट निवेदनलाई खारेज गरिदिएसँगै लाइसेन्स वितरणको बाटो खुलेको हो ।

आइतबार न्यायाधीशद्वय अनिल कुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण नगर्न धितोपत्र बोर्डका नाममा आदेश माग गर्दै परेको रिट खारेज गरेको हो ।

अधिवक्ता दीपक विक्रम मिश्रले गत असोज ३१ गते उक्त रिट दायर गरेका थिए । रिटमा गत कात्तिक ७ गते तत्काल लाइसेन्स वितरण नगर्न अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो ।

बोर्डले धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली २०७९, धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) (चौथो संशोधन) नियमावली २०७९ र धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) (पाँचौँ संशोधन) नियमावली जारी गर्दै नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरणका लागि आह्वान गरेको थियो ।

यसअघि बोर्डले नयाँ स्टक एक्सचेन्ज र ब्रोकरलाई लाइसेन्स दिन नियमावली संशोधन गरेको थियो । सोही नियमावली खारेजीको माग गर्दै अधिवक्ता अमृत खरेल र इन्द्र बानियाँले सर्वोच्चमा अर्को रिट पनि दायर भएको थिए । सो रिटलाई पनि संवैधानिक इजलासले खारेज गरेको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार १७:२७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।