काठमाडौं । सांसदहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे संसदीय छानबिन माग गरेका छन् । श्रेष्ठले मन्त्री बन्नका लागि सभापति रवि लामिछाने नजिकका व्यक्तिले २ करोड रुपैयाँ माग गरेको र त्यो रकम मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई व्यवस्थापन गरिदिन भनेको अडियो आइतबार सार्वजनािक भएको थियो ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद धनराज गुरुङले यो अत्यन्तै लज्जाको विषय भएको टिप्पणी गरे । ‘मन्त्री बन्नकै लागि कुनै एउटा व्यवसायीसँग बडो पारदर्शी ढंगले गफगाफ गरेको सुनिन्छ’, उनले भने, ‘यो भन्दा लज्जाबोध के हुन सक्छ !’
सांसद श्रेष्ठले सभापति लामिछानेको कोर टिमले रकम माग गर्न लगाएको भनी टेलिफोनमा भनेको उल्लेख गर्दै त्यो कोर टिम भनेको को हो भन्ने प्रश्न गर्दै सांसद गुरुङले उक्त कोर टिमबारे पनि छानबिन हुनुपर्ने बताए ।
प्रतिनिधिसभा सदस्य श्रेष्ठले गरेको कुराकानी, भ्रष्टाचार, कमिसन आदिबारे संसद चुप लागेर बस्न नहुने उल्लेख गर्दै उनले संसदीय छानविन समिति गठनको माग राखे । ‘आजकै दिनमा यही बैठकबाट एउटा संसदीय समिति बनाएर यो घटनाको निश्पक्ष छानबिन गर्नका लागि म माग गर्दछु’ गुरुङले भने ।




















प्रतिक्रिया