काठमाडौं । ललितपुरकाे बखुण्डाेलमा अपार्टमेन्ट निर्माण गरिरहेको समिट होटलसँग प्रतिनिधिसभा सांसद एवं उद्योगपति विनोद चौधरीको सीजी डेभलपर्सकोसमेत संलग्नता रहेको भन्दै केही संचारमाध्य र सामाजिक संजालमा विभिन्न टिक्काटिप्पणी भएका छन् । ‘द समिट होटल एन्ड रेसिडेन्सेस्’ नाममा बन्न लागेको १६ तले यो संरचनाका कारण छिमेकी घरहरु नै भासिएपछि त्यसमा सीजीलाई जोडेर समाचार तथा विभिन्न टिक्काटिप्पणी भएका थिए । तर यी सम्प्रेषित समाचार तथा टिक्काटिप्पणीलाई सीजी डेभपर्सले अस्वीकार गरेको छ ।
समिट होटल प्रा.लि.ले विकास गरिरहेको परियोजनासँग आफ्नो संलग्नतालाई जोडेर सार्वजनिक भएका समाचार एवं सामाजिक सञ्जालमार्फत् भएको विभिन्न टिकाटिप्पणीहरूप्रति आपत्ति जनाउँदै त्यसमा आफ्नो संलग्नता नरहेको सीजी डेभलपर्सले स्पष्ट पारेको छ ।
सीजी डेभलपर्सका अध्यक्ष राहुल चौधरीले आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै त्यसमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । होटल संचालनमा रहेको समयदेखि अहिले समिट रेसिडेन्सीको परियोजनामा सीजी डेभलपर्सको जम्मा ३० प्रतिशतको हिस्सा रहेको विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ । उक्त परियाजनामा बाँकी ७० प्रतिशत हिस्साको साझेदारहरूमा रविभक्त श्रेष्ठ, अमृतरत्न शाक्य, सुवर्णकृष्ण श्रेष्ठ, संचित श्रेष्ठ र उनीहरूको परिवार रहेको विज्ञप्तिमा उल्लेख छ ।
‘समिट होटल प्रा.लि.ले विकास गरिरहेको परियोजनासँग सीजी डेभलपर्सको संलग्नतालाई जोडेर सार्वजनिक भएका समाचार एवं सामाजिक संजालमार्फत गरिएको टिक्काटिप्पणीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘समिट होलट प्रा.लि.मा उक्त होटल संचालनमा रहेको समयदेखि अहिले समिट रेसिडेन्सीको परियोजनासम्मा सिजी डेभलर्पस जम्मा ३० प्रतिशतको साझोदार मात्र हो । बाँकी ७० प्रतिशत हिस्साको साझेदारहरुमा रविभक्त श्रेष्ठ, अमृतरन्त शाक्य, सुवर्णकृष्ण श्रेष्ठ, संचित श्रेष्ठ र उहाँको परिवार रहनुभएको छ ।’
त्यसमध्ये पनि निर्माणाधीन समिट रेसिडेन्सी परियोजना व्यवस्थापनको एवं संचालनको जिम्मेवारी संचित श्रेष्ठले लिएका उल्लेख छ । अध्यक्ष चौधरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस परियोजनाको निर्माण क्रममा सीजी डेभलपर्स व्यवस्थापन र संचालनमा संलग्न नरहेको हामी जानकारी गराउँदछौं ।’
सीजी डेभलपर्सले विकास गरेका परियोजनाहरु प्रतिष्ठित रहेको ती परियोजनाले नेपालको रियल स्टेट सेक्टरमा छुट्टै पहिचान स्थापित गरेका कम्पनीको दाबी छ । सीजी डेभलपर्सले काठमाडौं रेसिडेन्सी, सीजी हिल्स, माउण्ट भ्यू रेसिडेन्सी (फेज १, २ र ३ विकास गरेको हो । र अहिले ललितपुरको भैंसेपाटीमा सीजी हिल्स प्रिमियम विकास गरिरहेको छ । यी परियोजनाहरुको व्यवसायिक व्यवस्थापन र संचालन भने सीजी डेभलपर्सले गरिरहेको स्पष्ट पारिएको छ ।




















प्रतिक्रिया