Logo

प्रमुख समाचार

फोहाेरमा राजनीति : महानगर भन्छ- ‘औपचारिक वार्ताको प्रस्ताव आएन’



काठमाडौं । मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारसहित राष्ट्रपति निवास शीतलनिवास, प्रधानमन्त्रीनिवास बालुवाटारलगायतका ठाउँमा फोहोर थुप्रिएको करिब डेढ हप्ता भएको छ । संविधानको अनुसूची–८ र फोहोरमैला व्यवस्थापन ऐन २०६४ ले फोहोरमैला व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई दिएको भएपनि काठमाडौं महानगरले फोहोर उठाउन छाडेपछि सिंहदरबार, शीतलनिवास र बालुवाटारमा फोहोर थप्रिएका मात्र छैनन्, दुर्गन्ध पनि फैलिन थालेको छ ।

संघीय सरकारले आफ्नो कदममा साथ नदिएको झोँकमा काठमाडौं महानगरका प्रमुख बालेन साहले संघीय सरकारका प्रमुख सरकारी निवासका फोहोर नउठाउन निर्देशन दिएका थिए। प्रमुख बालेनको उक्त कदमविरुद्ध संघीय सरकारले कुनै विशेष कदम चाल्न सकेको छैन ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले महानगरले फोहोर नउठाएर जनस्वास्थ्यमाथि खेलबाड गरेको भन्दै असन्तुष्टि प्रकट गरेकी थिइन । उनले गर्मीको समयमा फोहोर नउठाउनाले आम जनताको स्वास्थ्यमा असर पर्ने भन्दै यस्तो गर्नु राम्रो नभएको टिप्पणी गरिन् । उनले कुनै अर्को उद्देश्य पूर्तिका लागि फोहोर नउठाएर हड्तालको समेत विषय बनाइएको भन्दै असन्तुष्टि समेत पाेखिन । यता, शहरी विकास मन्त्री सीता गुरुङले पनि फोहोमा राजनीति गर्न नहुने बताएकी छन् । उनले आफूहरु महानगरसँग समन्वय गर्न तयार रहेको बताएकी छन् ।

महानगर प्रमुख संघीय सरकारसँग टक्कर लिने ‘मुड’मा देखिएपछि अन्ततः सरकार आफैँ फोहोर व्यवस्थापनका लागि अग्रसर भएको छ । सिंहदरबार, शीतलनिवास र बालुवाटारसहित महानगरको फोहोर व्यवस्थापन महानगरको रोहवरमा परिवर्तन सेवा नामक संस्थाले गर्दै आएको छ । मेयर बालेनको निर्देशनपछि उक्त संस्थाले फोहोर उठाउन छाडेको हो । तर महानगर प्रमुख बालेनको उक्त निर्देशन नेपालको संविधानको अनुसूची ८ र फोहोरमैला व्यवस्थापन ऐन २०६४ विपरीत भएको ठहर गर्दै शहरी विकास मन्त्रालय आफै फोहोर व्यवस्थापनका लागि अग्रसर भएको हो ।

आइतबार मन्त्रालयमा बसेको बैठकले फोहोर नउठाउने महानगर प्रमुख बालेनको निर्णय गलत ठहर गर्दै फोहोरमैला व्यवस्थापनका लागि परिवर्तन सेवालाई नै नियमित रुपमा उठाउन लगाउने निर्णय गरेको छ । बैठककाे निर्णयबारे शहरी विकास मन्त्रालयका सूचना अधिकारी सुरेशकुमार वाग्लेले अनलाइन पानालाई भने ‘संघीय व्यवस्थाअनुसार फोहोर मैला प्रबन्ध र व्यवस्थापन गर्ने अधिकार नेपालको संविधानको अनुसूची ८ बमोजिम र फोहोर मैला व्यवस्थापन ऐन २०६८ ले फोहोर मैलाको प्रबन्ध र व्यवस्थापन गर्ने दायित्व स्थानीय तहको हुनेछ भन्ने स्पष्ट रुपमा व्यवस्था भएको व्यहोरा सर्वविदितै छ । सोही अनुरुप काठमाडौं महानगरपालिकाले संवैधानिक एवं कानूनी प्रावधान विपरीत फोहार मैला व्यवस्थापन गर्न अवरोध गरेको अवस्थामा पनि सिंहदरबार केन्द्रीय सचिवालय रहेको परिसर, अतिविशिष्ट र विशिष्ट पदाधिकारीहरुको निवास रहेको स्थानबाट फोहोर मैला व्यवस्थापन गर्ने र त्यसका लागि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले परिवर्तन सेवा नामक संस्थासँग सम्झौता गरी व्यवस्थापन हुँदै आएकोमा उक्त संस्था मार्फत नै फोहोरमैला निर्वाध रुपमा उठाउन लगाउने निर्णय भएकाे छ ।’

यो निर्णयसँगै शहरी विकास मन्त्रालयका सूचना अधिकारी सुरेशकुमार वाग्लेले अब केही दिनमै फोहार उठ्ने बताए । उनले पहिलेदेखि नै सिंहदरबारसहित विशिष्ट व्यक्तिहरुको निवासको फोहोर व्यवस्थापन शहरी विकास मन्त्रालयले नै गर्दै आएको बताए । सोही अनुसार अहिले पनि मन्त्रालय अग्रसर भएर लागेको हो ।

सूचना अधिकारी वाग्लेका अनुसार अहिले फोहोर व्यवस्थापनको जिम्मा पाएको संस्था परिवर्तन सेवालाई महानगरको थ्रेटका कारण फोहोर उठ्न नसकेको मात्र हो । ‘के कुरा प्रष्ट हुनुपर्यो भने पहिला देखि नै सिंहदरबारलगायत अति विशिष्ट र विशिष्ट व्यक्तिहरु रहने ठाउँको फोहोर व्यवस्थापन शहरी विकास मन्त्रालय अन्तर्गतकै निकायले गर्दै आएको हो’, उनले भने, ‘अहिले महानगरबाट यो संस्थालाई फोहोर नउठाउन थ्रेट रहेछ । महानगरको ठूलो बजेटको र हाम्रो सानो बजेट हुने भएकाले महानगरले भनेको मानिन भने ठूलो बजेटको काम गुमाउँछु भन्ने भएर होला ।’

पुनः फोहोर उठाइदिनका लागि परिवर्तन सेवा संस्थालाई आग्रह गरिएको भन्दै सूचना अधिकारी वाग्लेले नमानेको खण्डमा विकल्प खोज्सक्ने पनि बताए । उनका अनुसार उक्त संस्थाले शहरी विकास मन्त्रालयलाई अहिलेसम्म फोहोर उठाउँदिन भनेको छैन ।

के भन्छ महानगर भन्छ ?

संघीय सरकारसँग टक्कर लिइरहेको काठमाडौं महानगरले औपचारिक वार्ताविना आफूले सिंहदरबारलगायतका ठाउँको फोहोर नउठाउने अडान लिएको छ । काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले संघीय सरकारले वार्ता नगरेसम्म आफूहरुले फोहोर नउठाउने स्पष्ट पारे ।

उनका अनुसार फोहोर नउठेको नौं दिन भइसक्दा पनि संघीय सरकारले औपचारिक वार्ताको प्रस्ताव गरेको छैन । ‘हामी वार्ताको पर्खाइमा छौं’, प्रवक्ता मानन्धरले भने, ‘ अहिलेसम्म वार्ताको कुनै औपचारिक प्रस्ताव आएको छैन । वार्ता नभएसम्म केही हुँदैन ।’

  • याे पनि…

काठमाडौं महानगरविरुद्ध सर्वोच्चमा रिट

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार १९:२९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।