Logo

खेलकुद

ओमानको विजयी सुरुवात, कतार ४० रनले पराजित



काठमाडाैं । एसिसी प्रिमियर कपमा ओमानले विजयी सुरुवात गरेको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा भएकाे खेलमा नेपालसँगै समूह ‘ए’मा रहेकाे ओमनले कतारलाई ४० रनले हराउँदै दुई महत्वपूर्ण अंक बटुलेको हो । जितको लागि २ सय ५० रनको विजयी लक्ष्य पछ्याएको कतार ४७.२ ओभरमा २ सय ९ रनमा अल आउट भयो । कतारका कप्तान मोहम्मद रिजवानले ६९ बलमा ६ चौकासहित सर्वाधिक ४३ रन बनाए । उनी कप्तान जिशान मकसुदको बलमा कट एण्ड बोल्ड आउट भए ।

तल्लोक्रमका खुराम शाहजाद ३३ बलमा ३ चौका र १ छक्कासहित ३०, कमरन खान १२, जाहिर इब्राहिम ९, इमाल लियानागे २७, मोहम्मद तनविर १९ र इक्रमउल्लाह खानले २६ रन बनाए । ओमानका बिलाल खानले ८.२ ओभरमा ४२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । जय ओडेरा र अकिब इलियासले समान दुई विकेट लिए । कप्तान जिशान मकसुदले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४९ रन बनाएको थियो । ओमानका आयन खानले ५९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६४ रनमा अविजित रहे । कप्तान जिशान मकसुद ७१ बलमा २ चौका र १ छक्कासहित ४१, कश्याप प्रजापति १८, जतिन्दरसिंह १६, अकिब इलियास १७, मोहम्मद नदीम १८, अदिल शफिक १६ र कलिमुल्लाह १ रनमा आउट भए । सन्दीप गौड ३७ बलमा २ चौका र १ छक्कासहित ३२ रनमा आउट भए ।

कतारका मोहम्मद मुरदले १० ओभरमा १ मेडनसहित ४७ रन खर्चेर ३ विकेट लिए । अमिर फरुकले १० ओभरमा ५२ रन खर्चेर ३ विकेट लिए । इक्रमउल्लाह खानले दुई विकेट लिए । ओमनले अब शुक्रबार नेपालसँग मुलपानी मैदानमा खेल्नेछ । कतारले शनिबार टियु मैदानमा साउदी अरेवियासँग खेल्नेछ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार २०:०३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।