काठमाडौं । बारा, चितवन र तनहुँमा उपनिर्वाचन जारी छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।
चितवन क्षेत्र नं– २ मा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले मतदान गरेका छन् । तर रास्वपाका उम्मेदवार रवि लामिछाने र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले भने त्यहाँ मतदान गर्न पाउने छैनन् । रविको मतदाता नामावली काठमाडौंमा रहेकाले र एमाले उम्मेदवार न्यौपानेको मतदाता नामावलीमा नाम चितवन क्षेत्र नम्बर ३ मा रहेकाले उनले उपनिर्वाचनमा भोट हाल्न नपाउने भएका हुन् ।
त्यस्तै तनहुँ क्षेत्र नं– १ मा नेपाली कांग्रेसका गोविन्द भट्टराईले व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रबाट मतदान गर्ने कार्यक्रम छ । नेकपा एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा. स्वर्णिम वाग्ले वाग्लेको भने तनहुँ जिल्लामा मतदाता नामावलीमा नाम नभएकाले उनीहरुले मतदान गर्न पाउने छैनन् ।
बारा क्षेत्र नं– २ मा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका हुन् । यादवको मोरङमा मतदाता नामावली रहेको र खरेलले काठमाडौँमा मतदाता नामावली रहेकाले मतदान गर्न नपाएका हुन् ।




















प्रतिक्रिया