काठमाडौँ । बाफलस्थित मकवानपुरका निश्चल अग्रवालले सञ्चालन गरेको गार्मेन्ट उद्योगमा आगलागी भएको छ। सोही कारखानामा चालकको रुपमा काम गर्ने दोलखाका २० वर्षीय भूपेन्द्र बस्नेत सम्पर्कविहीन भएको बताइएको छ।
शनिबार बेलुकी ९ः३० बजे काठमाडौँ महानगरपालिका–१३ बाफलचोक नजिक नारायणी पेट्रोल पम्प पछाडि श्यामकृष्ण महर्जनको दुई तले टिनको टहरामा रहेको गार्मेन्टमा आगलागी भएको हो। मकवानपुरका निश्चल अग्रवालले सञ्चालन गरेको गार्मेन्ट उद्योगमा आगालागी भएको र आगलागी पश्चात् प्रहरी टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो।
आगलागी नियन्त्रणमा लिएसँगै गार्मेन्टमा रहेका कपडा, उपकरणलगायत सामग्री जलेर नष्ट भएको छ । घटनास्थलमा मानिसको शरीरको दाहिने खुट्टाजस्तो देखिने पैतलाको भाग जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उक्त जलेको भागलाई आवश्यक अनुसन्धानका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। आगलागी के कारणले भयो भन्नेबारे अनुसन्धान भइरहेको र आगलागीको क्षतिसमेत सङ्कलन भइरहेको प्रहरीले बतायो।




















प्रतिक्रिया