Logo

राजनीति

चितवन–२ मा रवि लामिछानेको जित सुनिश्चित, प्रतिस्पर्धी जितनारायणले दिए बधाई



चितवन । चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ । ८ हजार मत गणना बाँकी हुँदा लामिछाने झन्डै ४१ हजारको मतअन्तरले अगाडि छन् ।

पछिल्लो मतपरिणामअनुसार लामिछानेले ५० हजार ७९ मत ल्याएका छन् । नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ९ हजार १६५ मत पाएका छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । यस्तै एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८७७ मत प्राप्त गरेका छन् ।

गत मंसिर ४ को आमनिर्वाचनमा लामिछाने रवि चितवन २ बाटै निर्वाचित भएका थिए । तर नागरिकता विवादका कारण उनको सांसद पद गुमेपछि उपनिर्वाचन भएको थियो ।

मंसिर ४ को आमनिर्वाचनमा ४९ हजार २६१ मत ल्याएका लामिछानेले अहिले त्योभन्दा बढी मतान्तरको शानदा जित निकाल्ने पक्का भएको हो ।

जितनारायणले दिए बधाई

चितवन-२ मा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले जित सुनिश्चित गरेका रास्वपाका रवि लामिछानेलाई बधाई दिएका छन् । मतगणनास्थलमा पुगेर कांग्रेस उम्मेदवार श्रेष्ठले रास्वपाका सभापतिसमेत रहेका रविलाई बधाई दिएका हुन् ।

रवि अब आफ्नो पनि जनप्रतिनिधि भएको भन्दै श्रेष्ठले प्रतिस्पर्धीका रुपमा रविको रचनात्मक काममा सहयोग गर्ने बताए । उनले भने, ‘जनप्रतिनिधिलाई एउटा प्रतिस्पर्धीका रुपमा नकारात्मक होइन, सकारात्मक सहयोग रहन्छ ।’

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार ११:२३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।