एजेन्सी । बुधबार छत्तीसगढको दन्तेवाडामा नक्सलवादीकाे हमलामा १० प्रहरीको मृत्यु भएको छ। यी जवानहरू डिस्ट्रिक्ट रिजर्व गार्ड (DRG) युनिटका भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुसहित गाडीका चालकको पनि आक्रमणमा मृत्यु भएको छ । उनको टोली वर्षामा फसेका सुरक्षाकर्मीलाई उद्धार गर्न गएको थियो । यसैबीच नक्सलवादीहरूले प्रहरीको गाडीलाई आईईडी विष्फोटमा उडाएकाे जनाइएकाे छ ।
दन्तेवाडा जिल्लाको अरनपुर प्रहरी चौकी क्षेत्र अन्तर्गत अरनपुर-सामेली बीचमा आक्रमण भएको जनाइएकाे छ। स्रोतका अनुसार प्रहरी र नक्सलवादीबीच भिडन्त पनि भएको छ । उक्त भिडन्तका क्रममा नक्सलवादी माओवादीले गाडीमा बम प्रहार गरेका जनाइएकाे छ । आईजी सुन्दरराज पीले घटनास्थलमा वरिष्ठ अधिकारी पठाइएको र क्षेत्रमा खोजी अभियान जारी रहेकाे बताएका छन् ।
नक्सल आक्रमणमा परी मृत्यु हुनेमा प्रहरी जवान जोगा सोधी, मुन्नाराम कडाती, सन्तोष तमो, हवल्दार दुल्गो माण्डवी, लख्मु मरकम, हवल्दार जोगा कावासी, हवल्दार हरिराम मण्डवी, सिपाही राजुराम कर्तम, जयराम पोडियाम जगदीश कावासी र हवल्दार रहेकाे जनाइएकाे छ । कारका चालक धनीराम यादवकाे पनि ज्यान गएकाे छ ।
५ दिनअघि नक्सलवादी शिविर ध्वस्त पारिएको थियो
५ दिनअघि सुकमा जिल्लामा सुरक्षा बलले नक्सलको शिविर ध्वस्त पारेको थियो । नक्सलवादीहरूले दैनिक प्रयोग गर्ने वस्तुहरू सहित ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद गरेको छ। यस शिविरमा करिब २५ देखि ३० नक्सलवादी उपस्थित रहेको बताइएको छ । जवानको आगमनको खबर पाएलगत्तै सबै नक्सलवादीहरू भागेकाे जनाइएकाे छ।
छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले आक्रमणप्रति दुःख व्यक्त गरेका छन् भने मृतकहरूका परिवारप्रति मेरो समवेदना पनि व्यक्त गरेका छन् । उनले नक्सलवादीलाई नछोडिने बताए। केन्द्रीय गृहमन्त्री अमित शाहले छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेललाई सम्भव भएसम्म सहयोग गर्ने बताएका छन्।




















प्रतिक्रिया