पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही २१ गते विश्वासको मत लिने भएका छन् । नेकपा एमालेका खगराज अधिकारी नेतृत्वका सरकार ढलेसँगै संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहीबार नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेसका पाण्डेले २१ गते विश्वासको मत लिने भएका हुन् ।
त्यसका लागि मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबारका लागि प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेका छन् । वैशाख ९ मा एक दिनमात्र बसेपछि प्रदेशसभा अधिवेशन अन्त्य गरिएको थियो ।
माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका पाण्डेले १५ गते पद तथा गोपनीयतको शपथ लिएका थिए । पदभार गर्दै पाण्डेले शुक्रबार तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । गण्डकीमा मन्त्रालयको भागबन्डा नटुंगिएका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । पाण्डेले विश्वासको मत लिएपछि मात्र मन्त्रिपपरिषद् विस्तार गरिने बताइएको छ ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार संचालनका लागि ३१ सांसदको आवश्यक पर्दछ । गण्डकीमा कांग्रेस २७ सिटले सबैभन्दा ठूलो दल हो । माओवादीका ७ र स्वतन्त्र सांसदको समर्थन छ । मुख्यमन्त्रीको दाबी पेस गर्दा पाण्डेले प्रदेश प्रमुखसमक्ष ३५ सांसदको हस्ताक्षर बुझाएका थिए ।




















प्रतिक्रिया