काठमाडौं । नेपाली कांग्रेसकी सांसद पार्टी सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले आफूविरुद्ध नियोजित रूपमा दुष्प्रचार भइरहेको भन्दै आपत्ति जनाएकी छन् । उनले हरेक व्यक्तिलाई आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार भएपनि कोहीविरुद्ध आधारहीन गालीगलौज र लाञ्छाना लगाउने अधिकार कसैलाई नरहेको बताएकी छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै सांसद राणाले व्यक्तिगत रिस, कुण्ठा र आवेगलाई स्थान नदिन सञ्चार माध्यमलाई आग्रहसमेत गरेकी छन् ।
‘हरेक व्यक्तिलाई आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार छ । तर कसैलाई पनि कोहीविरुद्ध आधारहीन गालीगलौज र लाञ्छाना लगाउने अधिकार छैन’, उनले भनेकी छन्, ‘नियोजित रूपमा मेरो चरित्रहत्या गर्ने उद्देश्यका साथ केही व्यक्तिले सञ्चार माध्याममा अन्तर्वार्ता दिँदै म विरुद्ध गाली बेइज्जतीमा उत्रनु खेदजनक छ । त्यस्ता व्यक्तिहरूको व्यक्तिगत रिस, कुण्ठा र आवेगमा सम्पूर्ण सञ्चार माध्यम र सञ्चारकर्मीहरूले बुझिदिनुहुन हार्दिक अनुरोध गर्दछ ।’
प्रतिक्रिया