Logo

प्रमुख समाचार

मन्त्री छनोटबारे कांग्रेमा असन्तुष्टि, समावेशी नभएको भन्दै सभापति देउवामाथि प्रश्न



काठमाडौं । मन्त्री छनोटका सन्दर्भमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक्लौटी गरेको भन्दै पार्टीमा आलोचना भएको छ । बिहीबार देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा सहमहामन्त्री जीवन परियारले मन्त्री छनोट समावेशी नभएको भन्दै आपत्ति जनाए ।

सरकारमा कांग्रेसबाट दलित, मधेसी र पिछडिएका क्षेत्रको प्रतिनिधित्व नभएको भन्दै उनले सभापति देउवामाथि प्रश्न उठाएका हुन् । ‘हाम्रो पार्टीमा ८ वटा समावेशी कलस्टर बनाएका छौं । त्यसमा तीन वटा मात्र कलस्टर समेटिएको छ । भावनामा सबैको प्रतिनिधित्व गर्न हामी चुक्यौं’, सहमहामन्त्री परियारको भनाइ थियो ।

जवाफमा देउवाले यसअघि मन्त्रिपरिषद् विस्तार गर्दा सबैलाई समेट्ने बताएका थिए । ‘मन्त्रिपरिषद् अरू पटक पनि विस्तार हुन्छ । पछि सबैलाई समेटौला नि भन्नुभयो,’ परियारले भने ।

कांग्रेसबाट आठ जना मन्त्री सरकारमा सहभागी भएका छन् । उपप्रधानसहित रक्षामन्त्रीमा पूर्णबहादुर खड्का, कानुनमन्त्री धनराज गुरुङ, अर्थमन्त्रीमा प्रकाशशरण महत, परराष्ट्रमन्त्रीमा एनपी साउद, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल, स्वास्थ्यमन्त्री मोहन बस्नेत, सहरी विकास मन्त्रीमा सीता गुरुङ र खेलकुद मन्त्री डिगबहादुर लिम्बु नियुक्त भएका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार १८:५५   :  बजे

153
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।