Logo

गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकारलाई पूर्णता दिने तयारी



पोखरा । प्रदेशसभाबाट विश्वासको मत पाएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । गत १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले साता दिनभित्रैमा सरकारले पूर्णता पाउने जनाएका थिए ।

सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँटलगायत विषय लगभग टुङ्गिसकेको बताइन् । “गठबन्धनमा आन्तरिक तयारी भइरहेको छ, दुई/तीन दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ”, उनले भनिन् ।

मन्त्रिपरिषद्ले पूर्णता पाएर मन्त्रीहरुले कार्य जिम्मवारी सम्हालेपछि सरकारका काम कारबाहीले गति लिने उनको भनाइ छ । “मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत पनि पाइसक्नुभएको छ, अब मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदैन, सरकार सहज रुपमा अघि बढ्छ”, प्रवक्ता तिवारीले भनिन् ।

साठी सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) का सात र नेकपा (एकीकृत समाजवादी) का एक गरी ३५ बहुमत सदस्यले मुख्यमन्त्री पाण्डेलाई बिहीबार विश्वासको मत दिएका थिए । नेकपा (एमाले) का २२ प्रदेशसभा सदस्यले विश्वासको मतको विपक्षमा मत हाले भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई प्रदेशसभा सदस्य तटस्थ बसेका थिए ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री रेशम जुग्जालीले गठबन्धन दलहरुबीच मन्त्रालयको भागबण्डा मिलिसकेको बताए । “मन्त्रालयको जिम्मेवारीमा जाने पात्रहरुबारे अहिले दलगत रुपमा छलफल केन्द्रित छ”, उनले भने “मन्त्रीको नाम टुङ्गो लाग्नासाथ सरकारले पूर्णता पाउँछ ।”

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार १५:१३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।