Logo

प्रमुख समाचार

शरणार्थीका नाममा ठगी प्रकरण : सिंहदरबार पुगेर ओलीले प्रधानमन्त्रीलाई के भने ?

भेटपछि प्रधानमन्त्री प्रचण्डले भने– अनुसन्धान रोकिँदैन



काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुलउपर गरिएको प्रकरणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच शनिबार पनि भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओलीले सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डलाई तीन दिनत्रिमा दोस्रो पटक शनिबार भेटेका हुन् ।

भेटमा अध्यक्ष ओलीले यही विषयमा कुराकानी गरेको प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुलाई बताएका छन् । ‘अस्ति पनि उहाँको कन्सर्न थियो यही विषयमा । आज पनि यही विषयमा कन्सर्न राख्नुभयो’, प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले जनरल कुरा राखेँ ।’

ठगी गर्ने यो गिरोहमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको पनि संलग्ता रहेको भन्दै पक्राउ पुर्जी जारी भएपछि ओलीको दौडधुप बढेको छ । एमालेकै उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ । रायमाझीका छोरा सन्दीप, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् ।

ओलीसँग भेटपछि पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले नक्कली भुटानी शरणार्थीको घटनामा अनुसन्धान नरोकिने बताए । ‘‘रोकिँदैन, प्रक्रिया र प्रचलित ऐन अनुसार दृढताका साथ अगाडि जान्छ । दोषी कोही नछुटुन्, निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट बोल्ड रुपमा अगाडि जान्छ’ उनले भने ।

भेटपछि ओली भने पत्रकारहरूसँग खासै खुल्न चाहेनन् । ‘अस्ति पूर्व मन्त्री, उपप्रधानमन्त्री भइसक्या मान्छे हराउँछन् र ? भन्नुभएको थियो । तर, आज त टोपबहादुर रायमाझी हराउनुभयो । कहाँ हुनुहुन्छ उहाँ ?’ भनेर पत्रकारले गरेकाे प्रश्नमा उनले भने- तपाईँहरूले खोज्नुस् न ।

‘उहाँ अब कहिले आउनुहुन्छ र?’ भन्ने पत्रकारको अर्काे प्रश्नमा ओलीले ‘उहाँलाई नै सोध्नुस् न’ भन्ने छाेटाे जवाफ दिए । ‘तपाईँ अभियुक्तलाई जोगाउन लागिरहनुभएको आराेप छ नि ? भन्ने प्रश्नमा ओलीले ओलीले प्रतिप्रश्न गरे- ‘तपाईंहरुलाई विश्वास लाग्यो ?’ उनले एमालेलाई नरुचाउनेहरुले हल्ला फैलाएका तर्क गरे ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार १४:३८   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।