Logo

राजनीति

‘राजनीतिक विचारभन्दा माथि उठेर मुलुकको विकासमा लागौँ’



काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् पूर्वमन्त्री शिशिर खनालले राजनीतिक विचारभन्दा माथि उठेर मुलुकको विकासमा लाग्नुपर्ने बताएका छन् । जनकल्याण सामाजिक केन्द्र र सिद्धेश्वर करिडोर समितिले आज यहाँ आयोजना गरेको वातावरणसम्बन्धी अन्तरक्रियामा उनले विकासका लागि राजनीति गर्न नहुने बताएका हुन् । “राजनीतिलाई फरक ढङ्गले अगाडि बढाउनुपर्छ, अर्को पार्टीलाई निषेध गर्ने परिपाटीको अन्त्य गर्नुपर्छ”, उनले भने ।

खनालले बागमती करिडोर सरसफाइका लागि धेरै तहमा छलफल भए पनि विष्णुमती करिडोरको विकासका बारेमा धेरै छलफल हुन नसकेको बताए । संसारको प्रदूषित सहरमध्ये काठमाडौँसमेत भएको जनाउँदै यसलाई वातावरणमैत्री बनाउन प्रत्येक व्यक्तिको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो । उनले सङ्घ र प्रदेश सरकार कानुन बनाउन व्यस्त हुने भएकाले स्थानीय सरकारले स्थानीय क्षेत्रको विकासका लागि विशेष चासो दिनुपर्ने बताए । “सङ्घ र प्रदेश सरकारको सहयोगमा स्थानीय सरकारले स्थानीय क्षेत्रको विकासमा लाग्नुपर्छ”, उनले भने ।

नेपाली कांग्रेसकी नेत्री एवम् बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गी श्रेष्ठले वातावरणमैत्री सहरका व्यक्ति र घरपरिवारबाट चेतना आउनुपर्ने बताइन् । वृक्षरोपण गर्दा मानव जीवनलाई प्रत्यक्ष फाइदा पुग्ने रूखबिरुवा रोप्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : बैशाख २३, २०८० शनिबार  ५ : १५ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।