काठमाडौं । संघीय संसद्को वर्खे अर्थात् बजेट अधिवेशन आज (आइतबार)बाट सुरु भएको छ । तर बैठकको सुरुमै सांसदहरु तँछाडमछाड गर्दै बोल्न खोजेपछि सभामुख देवराज घिमिरेलाई अवस्था नियन्त्रणमा ल्याउन हम्मेहम्मे पर्यो ।
सभामुख घिमिरेले बैठक सुरु भएको घाेषणा गर्नासाथ नेकपा एमालेका सांसद रघुजी पन्त, नेमकिपाका सांसद प्रेम सुवाल, स्वतन्त्र सांसद अमरेशकुमार सिंहलगायतका सांसदले एकसाथ समय माग गरे । सभामुखले पहिला बैठक सुरु हुन दिन र आफ्नो कुरा राख्न समय दिने बताउँदै सबैलाई बस्न आग्रह गरे । तर सभामुखको आग्रह नमानी उनीहरु होटबाजीले बोलिरहे । कसैको पनि माइक अन नगरिएका कारण कसैले राखेको विषय पनि स्पष्ट सुनिएको थिएन ।
सभामुखले पटक पटक आग्रह गरेपछि सुरुमा आक्रोशित भएर कुरा राखेका एमाले सांसद पन्तले अशनग्रहण गरे । त्यसपछि पनि नेमकिपा सांसद सुवाल र स्वतन्त्र सांसद सिंह होटबाजीले बोलिरहे । त्यसबीचमा सभामुख पटक पटक बस्न आग्रह गरे । पहिलो बैठक औपचारिक रुपमा सुरु हुन दिन र बोल्नको लागि समय दिने प्रतिबद्धता जनाएपछि सांसद सिंह र सांसद सुवाल पनि बसे । त्यसपछि सांसदहरुलाई वर्खे अधिवेशनको पहिलो बैठकमा स्वागत गरे र राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सभामुखले सुनाएपछि बैठक सुरु भएका छ ।
प्रतिक्रिया