काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणाले आफ्नो नाम जोडिएर विभिन्न प्रश्नहरू उठेकोमा आपत्ति जनाउँदै आफूले कुनै गल्ती नगरेको बताएकी छन् । उनले आफूले केही नबिराएको दाबी गर्दै कसैसँग नडराउने बताइन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद राणाले तथ्यमा आधारित भएर बोल्नुपर्ने भन्दै आफूसहित सबै सांसदहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेकी छन् । ‘भ्रष्टाचारको कुरामा हामी साँच्चिकै कति सिरियस छौँ भन्ने मेरो प्रश्न छ । यहाँ म नभएको दिनमा मलाई इङ्गित गरेर अनेक प्रश्नहरू उठेका छन् । एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सहृय हुँदैन रहेछ । अझै पनि नारीले पुरुषले भनेको ठाउँमा मात्रै बस्नुपर्ने, उनीहरुले भनेको मात्रै बोल्नुपर्ने, अलिकति पब्लिक लाइफमा आयो भने पुरुषहरुलाई असहृय हुने परिस्थिति बनेको छ,’ उनले अघि भनिन्, ‘तर हामीले संविधानमार्फत् यो कुराको विरुद्धमा लेखेका छौँ । त्यसकारण मैले केही बिराएको छैन, म डराउँदिन ।’
उनले तथ्यभन्दा बाहिर गएर जथाभावी नबोल्न र भाषण नगर्न आग्रह गरिन् । ‘हामीले पटक–पटक सम्पत्ति विवरण बुझाउँछौँ, मेरो श्रीमान् पाँच–छ पटक प्रधानमन्त्री हुनुभयो, मेरो लगायत मेरो श्रीमान्को सम्पत्ति विवरण सरकारसँग सुरक्षित छ । म अनुरोध गर्न चाहान्छु, हामी जत्ति जना सांसद छौँ, सबैको सम्पत्ति विवरण वेभसाइटमा राखियोस्, सार्वजनिक गरियोस् ।’
प्रतिक्रिया