Logo

प्रदेश न. १

‘नो कोशी’को थिममा किरात राई यायोक्खा बेलायतले मनायाे साकेला



लन्डन । किरात राई यायोक्खा (किराया), बेलायतले ‘नो कोशी’को थिममा उभौली साकेला मनाएको छ । किराया, बेलायतले गत शनिवार आफ्नै जग्गा किरात हाउस ग्याम्बल लेन गिल्डफोर्डमा किरात राईहरूको महान् चाड साकेला ‘नो कोशी’को थिममा मनाएको हो ।

साकेला नाकछोङ किताबशेर राई र टोकाया जगत राईद्वारा सिमे-भूमे पुजेर साकेला मनाइएको अध्यक्ष चन्द्रबहादुर राईले जानकारी दिए । अध्यक्ष राईकाअनुसार कार्यक्रममा सिलिमोमा-सिलिमोपालगायत झ्याम्टा ढोल बजाउँदै साकेला-सिली प्रदर्शन गरिएको थियो ।

पुर्खा रत्नबहादुर राईको प्रमुख आतिथ्यता एवम् गिल्डफोर्ड बोरो अफ काउन्सिलका मेयर मासुक मिहको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपालको तत्कालीन प्रदेश नं. १ को नाम कोशी राखिएकोप्रति विरोधस्वरूप ‘नो केशी’अङ्कित चर्चासमेत प्रदर्शन गरिएको थियो । गैरआवासीय नेपाली सङ्घ, बेलायतका अध्यक्ष प्रेम गाहामगर र आयोजक संस्था किराया बेलायतका अध्यक्ष चन्द्रबहादुर राईले संयुक्तरूपमा पानसमा दीप बालेर उद्घाटन गरेको कार्यक्रम संयोजकसमेत रहेका उपाध्यक्ष क्याप्टेन रिटायर्ड सुमनचन्द्र राईले स्वागत मन्तव्यमार्फत उपस्थित सबैलाई स्वागत गरेका थिए ।

कार्यक्रममा काउन्सिलरद्वय नेम थापा र जीव बेल्बासेलगायत तमु प्हे ल्हु संघ, बेलायतका अध्यक्ष अमर गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ, बेलायतकी अध्यक्ष गोमा राना, किरात याक्थुङ चुम्लुङ, बेलायतका महासचिव जुरेन्द्र खजुम, मगर संघ, बेलायतका उपाध्यक्ष रुद्र थापा, धरान समाज, बेलायतका अध्यक्ष रमेश लिम्बू, फोल्कस्टन नेपाली समाज, बेलायतका पूर्वअध्यक्ष चन्द्र गुरुङ, एभरेष्ट टाइम्सका प्रबन्धक निर्देशक नगेन्द्र नेम्वाङलगायतको उपस्थिति थियो ।

सचिव गङ्गाराम राई र उपमहासचिव प्रमिला लाबुङ राईले सञ्चालन गरेको कार्यक्रममा उभौली साकेलाबारे प्रकाश पार्ने कामसमेत भएको थियो । आफ्नै किरात भूमि नेपाललाई स्मरण गर्दै नेपाल र बेलायतको राष्ट्रिय गीत बजाएर सम्पन्न गरिएको कार्यक्रम वक्ताहरूले काराणवश बेलायतमा बस्नुपरे पनि नेपालको माया उत्तिकै रहेको बताएका थिए ।

औपचारिक कार्यक्रम समापनपछि बहुभाषिक किरात राई जातिको भाषिक संस्था/समुदायहरू; साम्पाङ राई, चाम्लिङ राई, बान्तवा राई आदिले भाषागत/थरगत सिली प्रदर्शन गरेका थिए भने र किराया बेलायतको स्ठानीय समन्वय परिषद् ग्रेटर रसमोरको तर्फबाट साकेला सिली प्रदर्शन गरिएको थियो ।

तस्बिरहरू हेर्नुहाेस्

प्रकाशित मिति : बैशाख २६, २०८० मंगलबार  ११ : ११ बजे

645
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।