काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिने कसैलाई पनि नछाड्ने चेतावनी दिएका छन् । शरणार्थी प्रकरणमा आर्थिक रूपमा संगठित ठगी भएको देखिएको उल्लेख गर्दै उनले सरकार निष्पक्ष ढंगले अनुसन्धान अघि बढाउन र त्यसलाई निष्कर्षमा पुर्याउन लागि परेको बताए ।
‘अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा आर्थिक रूपमा संगठित ठगी भएको देखिएको छ,’ सिंहदरबारमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘अनुसन्धानको प्रक्रिया अगाडि बढेको छ। यसलाई निष्पक्ष ढंगले अनुसन्धान अघि बढाउन र त्यसलाई निष्कर्षमा पुर्याउन लागि परेका छौं । अनुसन्धानले जसलाई दोषी देखाउँछ, त्यसलाई प्रहरीले छोड्दैन।’
श्रेष्ठले आज शीर्ष नेताहरुसँग आफ्नो भेट नभएको र हिजो बालुवाटारमा भएको बैठकमा शीर्ष नेताहरुसँग अनुसन्धानमा सहयोग पुर्याउन आग्रह गरेको बताए । ‘आज मेरो विपक्षी दलका नेतासँग भेट भएन,’ उनले भने, ‘उहाँहरूको फरक विषय संसद र संवैधानिक समितिसम्बन्धी विधेयक र शान्ति प्रक्रियाबारे कुरा थियो।’
गृहमन्त्री श्रेष्ठले पूर्वमा भएको आक्रमणका सन्दर्भमा आफूले एमाले अध्यक्ष केपी ओलीलाई निवासमै भेटको र नक्कली शरणर्थी प्रकरणको छानविनमा सहयोग मागेको समेत जानकारी दिए।
प्रतिक्रिया