काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले नक्कली शरणार्थी प्रकरणमा खुट्टा नकमाउन सरकारलाई आग्रह गरेकी छन् । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर गठीसँगै मानव तस्करीसम्बन्धी अपराध भएको भन्दै उनले संलग्न कसैलाई पनि उन्मुक्ति दिन नमिल्ने बताइन् ।
संबाद डबलीमा आयोजित अन्तरक्रियामा अध्यक्ष सिंहले यो प्रकरणलाई निष्कर्षमा पु¥याउन सरकारलाई सबैले साथ दिनुपर्ने बताइन् । ‘मुलुक निर्माणमा बाधक बनेको भ्रष्टाचार विरुद्धको अभियानमा यो सरकारले लिड गरिरहेको छ’, उनले भनिन्, ‘यसमा अब सरकारले खुट्टा कमाउनु हुँदैन, यो नक्कली शरणार्थी प्रकरण निष्कर्षमा पुग्ने हो कि होइन भन्ने आमजनताको प्रश्न छ । सरकारलाई हाम्रो प्रश्न पनि त्यही हो र खबरदारी पनि ।’
अहिले सीमित व्यक्तिलाई जोगाउन वार्गिनिङ भइरहेको भन्ने भाष्यलाई गलत सावित गर्न पनि सरकार यो प्रकरणबाट पछि हट्न नहुने उनले बताइन् ।
भ्रष्टाचार जस्तो अक्षम्य अपराध गर्नेहरुको कुनै दल र लिङ्ग नहुने भन्दै दोषी जोसुकै भएपनि कानुनी कठघरामा आउन र ल्याउन आट गर्नुपर्ने अध्यक्ष सिंले बताइन् । उनले यस्तो क्रियाकलापमा संलग्नलाई सामाजिक बहिस्कार गर्नुपर्ने पनि बताइन् । ‘यी यस्ता अपराधीहरुलाई सामाजिक बहिस्कार गर्न हामीले सक्नुपर्छ’, उनले भनिन्, ‘हामीले भ्रष्टाचारी र अपराधीहरुलाई सामाजिक बहिस्कार गरेनौं भने फेरि राज्यको उपल्लो निकायमा पुग्ने अनि राज्यलाई दोहन गर्छन् ।’




















प्रतिक्रिया