काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ पुर्नले अनुसन्धान निष्कर्षमा पुग्ने आशा जागेको बताएका छन् । उच्च पदस्थ अभियुक्तहरुलाई उन्मुक्ति दिन शीर्ष नेताहरुले बार्गिनिङ गरिएका बेला कांग्रेसका प्रभावशाली नेतासमेत रहेका खाण पक्राउ गरेको भन्दै उनले सरकार र प्रहरीको प्रशंसा गरे ।
काठमाडौं अनामनगरस्थित संवाद डबलीमा बिहीबार आयोजित अन्तरक्रियामा अध्यक्ष पराजुलीले भने, ‘पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरेर सरकारले जुन साहस गर्यो, यो प्रशंसनीय छ’, उनले भने ।
अध्यक्ष पराजुलीले सांसद र मन्त्री भएपछि लुट्ने प्रवृत्तिविरुद्ध सरकारको अहिलेको कदम राम्रो भएपनि निष्कर्षमा पुग्न नदिन अनेक प्रपञ्च हुन सक्ने आशंका व्यक्त गरे । तर सरकार यो प्रकरणलाई टुंगोमा पुर्याउन कसैको दबाब र प्रभावमा पर्न नहुने बताए ।
उनले सरकारलाई भने, ‘अब फायर खोल्नुस् । यो देशमा सुशासन स्थापित गर्ने प्रधानमन्त्रीलाई अन्तिम मौका पनि हो ।’
नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएर पनि नेकपा एमाले सचिव पक्राउ पर्न नसकेको भन्दै प्रश्न पनि गरे । ‘सभामुखसँगै रहेको व्यक्ति फरार हुन सफल कसरी भयो र अहिलेसम्म पक्राउ पर्न नसक्ने परिस्थिति कसरी बन्यो ?’
प्रतिक्रिया