Logo

प्रमुख समाचार

लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न राजनीतिक दललाई आयोगको निर्देशन



काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगका अनुसार आयोगमा पेस गरेका ८२ राजनीतिक दललाई आफ्नो लेखापरीक्षण प्रतिवेदन सात दिनभित्र सार्वजनिक गरेर सोको जानकारी आयोगमा गराउन निर्देशन दिएको हो ।

‘आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण प्रतिवेदन तोकिएको समयसीमाभित्रै पेस गर्ने ८२ (बयासी) राजनीतिक दललाई आयोगमा पेस गरेको लेखा परीक्षण प्रतिवेदन ७ (सात) दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चारमाध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि), सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, ईन्स्टाग्राम) का माध्यमबाट सार्वजनिक गरी सार्वजनिक गरेको मितिले ७ (सात) दिनभित्र सोको जानकारी आयोगमा गराउन निर्देशन दिएको छ,’ आयोगले विज्ञप्तिमार्फत भनेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दलहरूलाई लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको जानकारी दिए ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कानुनबमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

जसअनुसार आयोगमा ८२ दलले त्यस्तो विवरण अद्यावधिक गराएका छन् । आयोगले निरन्तर दुई आर्थिक वर्षसम्म प्रतिवेदन पेस नगर्ने राजनीतिक दललाई त्यस्तो प्रतिवेदन पेस नगर्नुको कारण सोधेको छ ।

प्रकाशित मिति : बैशाख २८, २०८० बिहीबार  ५ : १६ बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।