काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार कोहीकसैको दाबाबले पछि नहट्ने बताएका छन् । उनले नक्कली शरणार्थी प्रकरणमा नेपाल प्रहरीलाई कसैको पनि दबाबमा नपरीकन काम गर्न निर्देशन दिइएको भन्दै अहिले प्रहरीले निष्पक्ष रुपमा काम गरिरहेको उल्लेख दाबी गरे ।
मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भने, ‘हामीले समृद्धिको यात्राको प्रमुख बाधक जो छ, भ्रष्टाचार र कुशासनलाई समाधान गर्न हामीले अरु पनि यस प्रकारका समाधानहरु छन्, त्यसलाई निर्भिकतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्छु । भुटानी शरणार्थी बनाएर पठाउने जुन केस हो, अहिले अनुसन्धान सकिएको छैन । अनुसन्धानको समय कम भएकाले प्रहरीले २४ घण्टा नै काम गर्नुपरेको बाध्यता छ, प्रहरीलाई प्रारम्भिक चरणदेखि नै कुनै राजनीतिक वा अवाञ्छनीय प्रभावबाट मुक्त राखेर अनुसन्धान अघि बढाउन निर्देशन दिइएको छ । कोही निर्दोष फस्ने काम नहोस् भनेर भनेका छौँ ।’
गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारका अन्य प्रकरणहरुको पनि अनुसन्धान हुने बताए । अनुसन्धानको आधारमा विभिन्न व्यक्तिहरुलाई नियन्त्रणमा लिने र अनुसन्धानले पुष्टि गरेपछि कानुनी दायरामा ल्याउने सरकारको काम भएको बताए ।
‘नेपाली नागरिकलाई अनागरिक बनाएर भुटानाी शरणार्थीको रुपमा विदेश पठाउने त्यसरी विदेश पठाउने प्रक्रियालाई अघि बढाएर सम्पत्ति आर्जन गर्ने काम भएको कुरामा अहिले सरकाकर, गृह मन्त्रालय र प्रहरीले अनुसन्धानको प्रक्रिया अघि बढाएको छ’, उनले भने, ‘यो मुल स्पिरिटलाई केन्द्रबिन्दुमा राखेर यो प्रक्रिया अघि बढाएका छौँ । यसलाई अगाडि ल्याएर सरकार यतिमै केन्द्रित हुने पक्षमा छैन ।’
प्रतिक्रिया