Logo

प्रमुख समाचार

‘प्राइमरी निर्वाचन प्रणाली’ बाट उम्मेदवार चयन गर्ने राप्रपाको निर्णय



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘प्राइमरी निर्वाचन प्रणाली’ बाट उम्मेदवार चयन गर्ने निर्णय गरेको छ ।

काठमाडौँमा सम्पन्न केन्द्रीय समिति बैठकपछि बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश र संघीय निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार चयन गर्दा निर्वाचन प्रणालीबाट गरिने बताए ।

‘प्रारम्भिक रूपमा प्रादेशिक र संघीय निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ ५० प्रतिशत उम्मेदवार प्राइमरी निर्वाचन प्रणालीबाट चयन गरिनेछ,’ केन्द्रीय समिति बैठकपछि प्रवक्ता सगुनसुन्दर लावतीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राप्रपाले ५ वर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्‍याउने लक्ष्यसमेत लिएको छ । ‘राप्रपालाई अब ‘नवीन राप्रपा’ को अवधारणाअनुसार युवा र महिला केन्द्रित नयाँ सोच र शैली अनुशरण गर्दै आम नागरिकमा आशा, भरोसा र विश्वास जगाउँदै ५ वर्षभित्र राप्रपालाई देशको नेतृत्वमा पुर्‍याउने लक्ष्य लिइएको छ,’ केन्द्रीय समितिको निर्णयमा उल्लेख छ ।

राप्रपाले भ्रष्टाचार निर्मूल पार्नका लागि क्यान्टोनमेन्ट घोटाला, ललिता निवास जग्गा काण्ड, एनसेल प्रकरण, वाइड बडी काण्ड लगायतका सम्पूर्ण भ्रष्टाचारका घटनामा छानबिन गरेर दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ । यस्तै २०४६ पछिका उच्चपदस्थ राजनीतिक लाभका पदमा रहेका तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न पनि राप्रपाले सरकारसँग माग गरेको छ ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार १७:५१   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।