काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकु शिविर प्रकरणमा आफू दोषी देखिए जेल जान पनि तयार रहेको स्पष्ट पारेका छन् । बिहीबारको प्रतिनिधिसभामा सांसदहरुसँगको प्रश्नोत्तरमा सहभागी हुँदै उनले आफू संसदीय समिति बनाएर छानबिनका लागि पनि तयार रहेको बताएका छन् ।
राप्रपाका सांसद ज्ञानबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लडाकु शिविर प्रकरण छानबिन गर्न तयार हो ? भन्दै प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले पूर्व लडाकु प्रकरणको विषय राजनीतिक पूर्वाग्र राखेर उठाउने गरिएको भन्दै कुनै अनियमितता नभएको स्पष्ट पारे ।
‘पूर्व माओवादी लडाकुलाई वितरण गरिएको रकममा भ्रष्टाचार भयो भन्ने आरोपका लागि आरोप मात्रै हो । शान्ति सम्झौता भएर क्यान्टोनमेन्टमा पूर्व जनमुक्ती सेनालाई राख्ने सहमति पछि उनीहरुको रासनपनी र व्यवस्थाका लागि के कति खर्च भयो भन्ने सबै रेकर्ड छ । त्यसबेलाका प्रधानमन्त्री स्वर्गिय गिरीजाप्रसाद कोइराला र अर्थमन्त्री रामशरण महतसहितले रुजु गरिसकेपछि यो पटाक्षेप भइसकोको विषय हो’, प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले राजनीतिक पूर्वाग्रह राखेर यो विषय पटक पटक उठाउने गरिएको मात्रै हो ।
अडिट भएर टुंगो लगाइसकिएको विषय भएको उनले स्पष्ट पारे । ‘दलको घोषणा पत्रमा नै हामीले २०४८ देखिका सबै काण्ड छानिबन गर्न तयार छौं भनेका छौं । क्यान्टमेन्टका कुरा कपोल्कल्पित हो’, उनले भने, ‘छानबिन गरेर दोषी ठहरिए म आफै जेल जान तयार छु ।’
प्रतिक्रिया