Logo

प्रमुख समाचार

महानगरको वृक्षारोपण कार्यक्रमः रत्नपार्कमा रोपिए ११५ वटा धूपी, कपुर र समीका विरुवा



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज शंखधरपार्क (रत्नपार्क) मा वृक्षारोपण गरेको छ । सहरी हरियालीका लागि १ लाख वटा विरुवा रोप्ने अभियानअन्तर्गत आज पार्कमा १ सय १५ वटा विरुवा रोपिए । जसमा कपुर, धुपी र समीका विरुवा छन् ।

अभियानको थालनी गर्दै यसअघि काटेश्वर जडीबुटी सडक खण्डमा १ सय २० वटा कपुरका विरुवा रोपिएका थिए । सहरी हरियालीका लागि १ लाख विरुवा रोप्ने सपना पूरा गर्ने अभियानमा रहेको महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले बताएका छन् ।

सहरी हरियालीका लागि धार्मिक मान्यता पाएका, फूल फुल्ने, फल फल्ने र बास्ना आउने बिरुवा रोपेर हरियाली बचाउने, वानस्पतिक र जैविक विविधता जोगाउने प्रयास थालिएको प्रमुख शाहको भनाइ छ । प्रमुख शाहका अनुसार ‘चराचुरुङ्गी तथा अन्य जीव जनावरलाई खाना र बास उपलब्ध गराउने सक्ने क्षमता भएका स्थानीय जातका बोट विरुवालाई जोगाउने योजनाअनुरुप रैथाने (इडेमिक)) र प्राकृतिक रुपमा उम्रने (इन्डिजेनियस) बोट विरुवा रोप्ने कार्यलाई पहिलो प्राथमिकतामा राखिनेछ ।’

रत्नपार्ककाे आजकाे वृक्षाराेपण कार्यक्रममा सहभागी बिरुवा राेप्दै

सन् १८०२ मा एक बर्षसम्म काठमाडौंको नारायणहिटी र स्वयम्भूमा बैज्ञानिक बुचानन हामील्टनले बोट विरुवाको अध्ययन गरेका थिए । त्यसबाट ४१ प्रजातिका विरुवाको नाम नेवारी लवजमा राखियो । अन्तरर्राष्ट्रिय स्तरमा नेवारी लवजबाटै उच्चारण गरिने ती बिरुवाहरु — बोसिस्वाँ, नःकुस्वाँ, भोलुस्वाँ, लुँकुलिस्वाँ, गुँसीलगायतका हुन् । यी बिरुवाको बैज्ञानिक नाम क्रमशः बेटुला बोसिस्वाँ (अल्नस नेपालेन्सिस), लौरस नकुस्वाँ, डाँफे भोउलु, लुकुलिया ग्राटिसीमा, पोडोकार्पस नेरिफोलियस हो ।

यी विरुवा स्थानीय हावापानीमा सजिलै हुर्कने तथा नेपाली जनजीवनसँग परिचित भएकोले जैविक र वानस्पतिक विविधताको संरक्षणमा सघाउ पुग्ने भन्दै महानगरले वृक्षारोपणमा यस्ता बिरुवा पनि रोपेको छ । वनस्पतिविज्ञ प्रकाश खड्गीकाअनुसार, नेपालमा पाइने १ सय ५८ प्रकारका रुख र ७५ प्रकारका बुटाहरु विश्वका अन्त कतै पाइँदैनन् । यहाँ ३ सय १२ प्रकारका रैथाने जातका बोट बिरुवा छन् ।

बनस्पति विज्ञहरुले सडकको किनारा, पार्क वा घरमा जहाँ ठाउँ छ, त्यहाँ आफ्नै वातावरणमा परिचित बोट विरुवा रोप्नका लागि शिफारिस गरेका छन् । यसरी रोपिने विरुवाहरुमा उत्तिस, काब्रो, लप्सी, सिमल, पैयुँ, लेक पाङ्ग्रा, सिरिङ्गे, मिकुसी स्वाँ जस्ता बिरुवा छन् ।

सहरको पानी, माटो, हावा, तापक्रम व्यवस्थापन गर्न वृक्षारोपण आवश्यक छ । यो आवश्यकता स्थानीय जातका बोट विरुवाले पूरा गराउन सक्छन् । महानगरको उद्यान तथा हरियाली प्रवर्धन आयोजनाका प्रमुख नवराज थापाका अनुसार, रत्नपार्कसँगै खुल्ला मञ्च क्षेत्र, पार्कसँगै वडासँग समन्वय गरेर निर्धारण भएका ठाउँमा विरुवा रोपिनेछन् ।
बर्खा याममा विरुवा सार्न र बचाउन सकिने भएकोले यही मौसममा धेरै विरुवा रोप्ने योजना छ । यससँगै ट्राफिक आइल्याण्डहरुमा मौसमी पूmलहरु रोपिनेछन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार १०:२८   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।