काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालय काठमाडौंमा आज प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
यसअघि शुक्रबार नै प्रतिवेदन बुझाउने तयारी भएपछि अन्तिम समयमा दुई जना पक्राउ परेपछि बयान गर्नुपर्ने भएकाले सरेको हो । आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंले दुई महिना लामो अनुसन्धान सकेर सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाउन लागेको प्रहरी स्रोतले जनाएको छ ।
यस प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूमध्ये गृह मन्त्रालयअन्तर्गत हज समितिका अध्यक्ष शमशेर मियाँ र भुटानी शरणार्थी नेता टेकनाथ रिजालको बयान शनिबार सकाएको छ । काठमाडौं प्रहरी परिसरले प्रस्तावित रायसहित अनुसन्धान प्रतिवेदन बुझाउने लागेको स्रोतले बतायो ।
यस प्रकरणमा प्रहरीमा १०६ जना पीडितले जाहेरी दिएका छन् । त्यसपछि १६ जनालाई पक्राउ गरिसकेको छ । नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण खाण उनका सहयोगी नरेन्द्र केसी, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे र नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा पक्राउ परेका छन् ।
यस्तै सागर राई, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हज समितिका अध्यक्ष शमशेर मियाँ र शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ । यसप्रकरणमा इन्द्रजित राईका छोरा निरज, बादलका छोरा प्रतिकसहित केही अझै फरार छन् ।
प्रहरीले बुझाउने प्रतिवेदन अध्ययन गरेर काठमाडौं जिल्ला अदालतलाई मुद्दा दर्ता गर्न पनि केही दिनमात्रै बाँकी छ । प्रहरीले संगठित अपराध कसुरमा ६० दिनको म्याद पाउँछ । सरकारी वकिल कार्यालय प्रमुख एवं सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेको नेतृत्वमा आठ जनाको टोली बनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते ३ जनालाई पक्राउ गरि अनुसन्धान सुरु भएको थियो ।




















प्रतिक्रिया