काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेको सांसद योग्यतासम्बन्धी रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । लामिछाने सांसद पदका लागि अयोग्य रहेको भन्दै पेस भएको रिट दरपीठ गर्ने रजिस्ट्रारको निर्णय बदर गर्दै सर्वोच्चले दर्ता गर्न आदेश गरेको हो ।
उक्त रिट गएको वैशाख २५ गते सर्वोच्च अदालतमा लगिएको थियो । वैशाख २८ मा सर्वोच्च प्रशासनले रिट दरपिठ गरेको थियो । सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले सोमबार रजिस्ट्रारको निर्णय बदर गर्दै रिट दर्ता हुने र न्यायिक निरूपण हुने आदेश गरेको हो ।
युवराज पौडेलले लामिछाने गत वैशाख १० को चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि अयोग्य रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त निवेदनमाथि आदेश दिँदै सर्वोच्चले भनेको छ, ‘निवेदनमा उठाएको विषयवस्तुको प्रकृति हेर्दा इजलासबाटै व्याख्या भई निरुपण हुनुपर्ने संवैधानिक र कानुनी प्रश्न निहीत रहेको देखिँदा यस अदालतको रजिस्ट्रारबाट मिति २०८०/०१/२८ मा भएको दरपीठ आदेश बदर गरिदिएको छ ।’
लामिछानेले अमेरिकाको नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्चले गत माघ १३ गते सांसद पद खारेज गरेको थियो । उक्त रिट दर्ता गराएका सफलले नै फेरि लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिट लगेका हुन् ।
प्रतिक्रिया