Logo

प्रमुख समाचार

गणतन्त्रको दिन रेशम चौधरीलाई माफी दिने तयारीको फाइल राष्ट्रपति कार्यालयमा !



काठमाडौं । तीब्र आलोचनाकाबीच सरकारले पूर्व सांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी थालेको छ । कुनै तहको अदालतबाट रेशम चौधरी छुट्न नसकेपछि सरकारले नै गणतन्त्र दिवसको दिन सजाय माफी गरी रेशमलाई छुटाउने तयारी थालेको हो । गणतन्त्र दिवसको दिन विभिन्न कैदीहरुलाई माफी दिने प्रावधानअनुरुप रेशमलाई पनि जेल मुक्र गर्न सरकाले काम अगाडि बढाएको हो ।

टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका उनको बाँकी सजाय माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको छ । केही दिन अघिमात्रै सर्बोच्च अदालतले समेत उनले दायर गरेको निवेदन खारेज गर्दै रेशमलाई सजायबाट मिनाहा नदिने फैसला सुनाएको थियो ।

संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ ।

गृह मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ अनुसार सजाय माफीको प्रक्रिया अघि बढाएर फाइल राष्ट्रपति कार्यालयमा पठाएको हो । ऐनको दफा १५९ मा अदालतको फैसला बमोजिम सजाय पाएको व्यक्तिले माफी पाउन, मुल्तवी राख्न, परिवर्तन वा कम गर्न गृह मन्त्रालय मार्फत राष्ट्रपतिलाई निवेदन दिनसक्ने व्यवस्था छ ।

राष्ट्रपति कार्यालय स्रोतले रेशम चौधरीको कैद माफीसम्बन्धी गृह मन्त्रालयको प्रस्तावमाथि अध्ययन गरिरहेको जनाएको छ । फाइल चाँडै गृह मन्त्रालयमा फिर्ता हुने तयारी राष्ट्रपति कार्यालयको छ । यसअघि जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएका रेशम चौधरीलाई सर्वोच्च अदालतले गत २ जेठमा जन्मकैदको फैसला सदर गरेको थियो । उक्त फैसलाको पूर्णपाठ अहिलेसम्म तयार भएको छैन । संक्षिप्त फैसला भने सार्वजनिक भइसकेको छ ।

गृह मन्त्रालयले राष्ट्रपति कार्यालयमा फाइल पठाई त्यहाँबाट स्वीकृत भएर आएको फाइलमा महान्यायाधिवक्ताको राय लिएर ‘माफी मिनाहा’को प्रस्ताव मन्त्रिपरिषद पठाउँछ । मन्त्रिपरिषदबाट निर्णय गराई राष्ट्रपति कार्यालयले निर्णय गरेपछि कैदीको बाकी कैद माफी मिनाहा हुन्छ । सरकारले आगामी सोमबार १५ जेठको गणतन्त्र दिवसका अवसरमा चौधरीलाई माफी मिनाहा दिन लागेको हो ।

चौधरी १५ फागुन, २०७४ देखि थुनामा छन् । उनलाई अदालतले तोकेको जन्मकैदको सजाय अनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने थियो । माफी मिनाहाको प्रक्रिया कार्यान्वयन भए उनले करिब १५ वर्ष कैद सजाय मिनाहा पाउनेछन् ।

प्रकाशित मिति : जेष्ठ ११, २०८० बिहीबार  ४ : २२ बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।