काठमाडौं । रेशम चौधरीलाई आममाफी नदिन टीकापुर घटनामा ज्यान गुमाउने प्रहरी पत्नीले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गरेकी छन् । चौधरीको बाँकी कैद सजाय माफी माग गरिएको निवेदन बुधबार राष्ट्रपति कार्यालय पुगेको थियो ।
उक्त घटनामा प्रहरी निरीक्षक केशव बोहरा पत्नी शारदा कडायत बोहराले राष्ट्रपति कार्यालयमा निवेदन दिएकी हुन् । ‘मैले आज राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गरेकी छु’ उनले भनिन्, ‘राजनीतिक सौदाबाजीको प्रयत्न भएको छ ।’
सरकारले पूर्वसांसद चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी थालेको खबर बाहिरिएसँगै बोहरा निवेदन लिएर राष्ट्रपति कार्यालय पुगेकी हुन् ।
सरकारले आगामी सोमबार (१५ जेठ)को गणतन्त्र दिवसका अवसरमा चौधरीलाई माफी मिनाहा दिने तयारी सुरु गरेको छ ।
२०७२ भदौ ७ मा कैलालीको टिकापुरमा थरुहट समर्थक प्रदर्शनकारीको आक्रमणबाट प्रहरी निरीक्षक केशव बोहराले ज्यान गुमाएका थिए । टिकापुरमा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एकजना नाबालकको हत्या भएको थियो । प्रदर्शनको नेतृत्व रेशम चौधरीले गरेका थिए । नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी अदालतको फैसलाअनुसार जेलमा छन् । जिल्ला अदालत, उच्च अदालत डोटी र सर्वोच्च अदालतले रेसमविरुद्ध जन्मकैद फैसला गरेको छ ।




















प्रतिक्रिया