काठमाडौं । पशुपतिनाथको मन्दिरमा सुनको जलहरी भनेर पितलको राखेर भ्रष्टाचार भएको भन्दै नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले दिएका अभिव्यक्ति संसदको रेकर्डबाट हटाइएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को रेकर्डबाट सांसद दाहालले जेठ १० गतेको बैठकमा जलहरी प्रकरण र स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गरेको भनेको शब्द हटाउन निर्देशन दिए ।
सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी एमालेको माग र सोही विषयलाई लिएर संसद् अवरोध गरेपछि संसद्को रेकर्डबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन् । एमालेले पशुपतिनाथमा जलहरी लगाउँदा सुन भनेर पित्तल राखेको भन्ने शब्द हटाउन माग गरेको थियो । तर, शनिबारको बैठकमा सभामुख घिमिरेले भने कोरोनाकालमा स्वास्थ्य सामग्री खरिदमा दुई अर्ब भ्रष्टाचार गरेको भन्ने शब्द पनि हटाउन निर्देशन दिए ।
स्वास्थत्य सामग्रीको दुई अर्बको भ्रष्टाचार र पशुपतिको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएको भन्ने शब्द संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन गर्दछु’, सभामुखले भने ।
त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरमा जलहरीमा राख्ने सुनमा भ्रष्टाचार भएको भनिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको जानकारी दिएका थिए । उक्त विषयमा प्रमुख प्रतिपक्षी दलका नेतालाई जोडेर संसद्मा प्रश्न उठ्नु सही नभएको पनि प्रधानमन्त्रीको भनाइ थियो ।




















प्रतिक्रिया