Logo

कोशी प्रदेश

कोशी नामकरणविरूद्ध आन्दोलन : २३ जना आन्दोलनकारी पक्राउ



काठमाडौं । कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरका विभिन्न स्थानबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

कोशी प्रदेशसभाको बैठकमा सहभागी हुन जाने प्रदेश सभा सदस्यहरूलाई अवरोध पुर्‍याएको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष सहितका नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरेको मञ्चका अध्यक्ष कुमार लिङ्देनले बताए । उनका अनुसार प्रहरीले उप महासचिव दिपा लावतीलाई पनि पक्राउ गरेको छ ।

कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका एलभी फोर्सका १७ जना कार्यकर्तालाई विराटनगरस्थित देवकोटा चोकबाट पक्राउ गरेको हो । १२/१५ जना एलभी लेखिएको हेल्मेट लगाएको समूहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत पुस १७ गते प्रदेशको नामाकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्दैछ ।

शुक्रबार विराटनगरमा युवा दस्ता निर्माणको घोषणा गरेका पहिचानवादीहरुले कोशी नाम खारेजको माग गर्दै शनिबार महेन्द्र चोकमा प्रदर्शन गरेका थिए । आज उनीहरुले वृहत र फरक तरिकाले आन्दोलन गर्ने जनाएका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आईतवार १०:४५   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।