विराटनगर । कोशी नामकरण खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचाे राई सहित पक्राउ पर्नेको संख्या ३० पुगेको छ । मोरङ प्रहरीले उनलाई विराटनगरको देवकोटा चौकमा रहेको एक होटेलबाट पक्राउ गरेको हो ।
राई पक्राउ परेसँगै पक्राउ पर्नेको सङ्ख्या ३० पुगेको छ । कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि आज बिहान आन्दोलनमा उत्रिएका एलभी फोर्सका १३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष थाङसाङ लावती, उपमहासचिव दिपा आङ्दाङ्वालगायत छन् । १२/१५ जना एलभी लेखिएको हेलमेट लगाएको समूहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत पुस १७ गते प्रदेशको नामकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्दैछ ।
उता, पहिचानवादीहरूले पनि प्रदेशसभाको बजेट अधिवेशनलाई लक्षित गर्दै आन्दोलनको घोषणा गरेका छन् । शुक्रबार विराटनगरमा युवा दस्ता निर्माणको घोषणा गरेका पहिचानवादीहरूले कोशी नाम खारेजको माग गर्दै शनिबार महेन्द्र चोकमा प्रदर्शन गरेका थिए । आज उनीहरुले वृहत् र फरक तरिकाले आन्दोलन गर्ने जनाएका छन् ।




















प्रतिक्रिया