Logo

खेलकुद

मलेसियासँग नेपाल ५ विकेटले पराजित



काठमाडौं । मलेसियासँगको पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले हार व्यहोरेको छ । वाइएसडी यूकेएम ओभलमा भएको खेलमा मलेसिया ५ विकेटले विजयी भएको हो ।

नेपाली महिला टोलीले पहिलो पटक मलेसियासँग हार व्यहोरेको हो । यस अघि मलेसियासँग भएका तीन टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाल अपराजित रहेको थियो ।

नेपालले दिएको ५१ रनको लक्ष्य मलेसियाले १३ दशमलब २ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । मलेसियाका लागि वान जुलियाले सर्वाधिक १३ रन बनाईन् । हमिजाहले अविजित १२ रन बनाईन् । इना नजवा ८ रनमा अविजित रहिन् ।

नेपालका लागि कप्तान रुबिना क्षेत्री र सीता राना मगरले समान २र२ तथा कविता कुँवरले १ विकेट आफ्नो नाम गरिन् । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १६ दशमलब ५ ओभरमा ५० रन बनाउँदै अलआउट भयो ।

नेपालको लागि डेब्यू खेल खेलेकी सम्झना खड्काले सर्वाधिक १३ रन बनाइन् । ज्योती पान्डेले ११ रन बनाउँदा नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मलेसियाका लागि नीर नुर अतिलाले ३ तथा ऐश्या एलिसा, हमिजाह र महिराह इश्लामीले समान २/२ विकेट लिइन् । जितसँगै मलेसियाले पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा १/० को अग्रता लिएको छ । मलेसियासँग नेपालले दोस्रो खेल मे ३० अर्थात मंगलबार खेल्ने छ । जुन १ मा तेस्रो, जुन ३ मा चौथो र जुन ४ मा पाँचौ तथा अन्तिम खेल रहेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १२:२३   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।