Logo

अर्थ

पोखरा महानगरपालिकाका युवाले स्वरोजगार कर्जा पाउने



पोखरा । पोखरा महानगरपालिका र युवा स्वरोजगार कोषको संयुक्त लगानीमा साझेदारी कार्यक्रम सञ्चालन गर्न ग्रिन डेभलपमेन्ट बैङ्क बीच सहकार्यमा आधारित कर्जा लगानी सम्झौता भएको छ ।

सम्झौतामा महानगरपालिकाको तर्फबाट व्यवसाय प्रवर्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारी र बैङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार महानगरपालिकाभित्रका लक्षित समुदायका १८ देखी ६० वर्षसम्मका व्यक्तिहरूलाई कृषि, पशुजन्य, साना तथा सेवामूलक व्यवसाय सञ्चालन गरी आयआर्जन वृद्धिसहित जीविकोपार्जन सहज बनाउन सुलभ रूपमा प्रतिव्यक्ति न्यूनतम रु.३० हजार देखी रु.२ लाखसम्म परियोजनाको आवश्यकता हेरी स्वरोजगार कर्जा उपलब्ध गराइने छ ।

४२ महिना भित्र चुक्ता गर्ने गरी प्रतिमहिना ८ प्रतिशत ब्याजदरमा सो कर्जा उपलब्ध गराउन लागिएको हो । यसअघि कुनै पनि बैङ्क तथा वित्तीय संस्थाबाट सहुलियत कर्जा लिई नियमित भुक्तान नगरी कालो सूचिमा परेका आवेदकहरूलाई यस कार्यक्रममा समावेश गरिने छैन । कर्जाका लागि वडा कार्यालयको सिफारिस सहित महानगरपालिकाको छनौटमा परेको हुनुपर्नेछ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वरोजगार प्रवर्द्धनमा महत्त्वपूर्ण सम्झौता गरिएको बताए । उनले महानगर क्षेत्रमा रहेका लक्षित समुदायका व्यक्तिहरूलाई कृषि, पशुजन्य, साना तथा सेवामूलक व्यवसाय सञ्चालन गरी आयआर्जन वृद्धिसहित जीविकोपार्जन सहज बनाउन उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरे ।

“महानगरपालिका क्षेत्रको बेरोजगारी समस्यालाई न्यूनीकरण गर्दै युवा उद्यमशीलताको विकासका लागि महानगरपालिकाको तर्फबाट व्यवसाय प्रवर्धन केन्द्र सञ्चालन गरेका छौँ, उनले भने, यसले अहिले विभिन्न साझेदार संस्था एवं समूहहरूसँगको समन्वय तथा सहकार्यमा उद्यमशीलता प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ, सिप विकासका तालिम तथा प्रशिक्षण समेत सञ्चालन गरिएका छन् ।” युवा स्वरोजगार कोष र ग्रिन डेभलपमेन्ट बैङ्कसँग गरिएको सहकार्यमा आधारित कर्जा लगानी सम्झौता स्वरोजगार सृजनामा महत्त्वपूर्ण हुने उनले बताए ।

विभिन्न क्षेत्रमा सहुलियत कर्जा प्रवाह गरिरहेको बैङ्कको तर्फबाट व्यवसाय प्रवर्धन तथा स्वरोजगार सृजनामा महानगरपालिकासँग सहकार्य गर्न पाएकोमा प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले खुसी व्यक्त गरे । यसले महानगरपालिका भित्र व्यवसायी सोचको समेत विकास गर्ने उनले विश्वास व्यक्त गरे ।

व्यवसाय प्रवर्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले केन्द्रको योजना अनुसार युवा स्वरोजगार कोष र ग्रिन डेभलपमेन्ट बैङ्कसँगको सहकार्यले पोखरामा उद्यमशीलताका लागि आधार तयार गरेको बताए । विभिन्न किसिमका सीपमूलक तालिमहरू सञ्चालन गरिरहेको केन्द्रले स्टार्ट अपका लागि समेत निज क्षेत्रसँग गरिएको सहकार्य थप महत्त्वपूर्ण हुने उनले बताए । सुलव कर्जाका लागि आह्वान गरिएका आवेदनहरू माथि निष्पक्ष छानबिन गरी आवश्यकता र प्राथमिकताका आधारमा छनौट गरिने उनले बताए ।

हाल केन्द्रले सुलव कर्जाका लागि विभिन्न सर्तहरू सहित आवेदन सङ्कलन गरिसकेको छ ।

प्रकाशित मिति : जेष्ठ १९, २०८० शुक्रबार  १ : २२ बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।