Logo

अर्थ

अशोक शेरचनको व्यवस्थापकीय लापरबाहीले ४० करोड स्वाहा



काठमाडौं । कर्जा लगानीमा होस् या कर्मचारी व्यवस्थापनमा पटकपटक लापरबाही गरेर विवादित छबी बनाइरहेका प्रभु बैंकका सीइओ अशोक शेरचनकै कमजोर व्यवस्थापनका कारण प्रभु बैंकबाट एकैपटक करोडौं रुपैयाँ गुमेको पाइएको छ । गएको सोमबार र मंगलवार बैंकको सिस्टममा गडबडी हुँदा असावधानीवश ४०करोड बराबर रकम गायब भएको पाइएको हो । बैंकले व्यवस्थापन गर्न नसकेपछि दुई दिन सर्वसाधारणले अनलाइन मार्फत कारोबार गर्दा कतिपय खातावालाको खातामा रकम ट्रान्स्फर हुन पुगेको बताइएको छ । अचानक खातामा रकम आउँदा कतिपयले रकम निकालेर आफूखुसी चलाएका छन् ।

हामीले यसबारे बैंकका एक जना कर्मचारीसँग बुझ्दा एक घण्टाका लागि सिस्टममा खराबी आएर सर्वसाधरणको खातामा रकम गएको हुन सक्ने प्रतिक्रिया दिए । उनको प्रतिक्रियापछि थप बुझ्ने अभिप्रायले बैंकका कम्पनी सचिव अमित भण्डारी र प्रभु बैंककी चिफअपरेटिभ अफिसर सीओओ रश्मी पन्तसँग पटकपटक सम्पर्कको प्रयास असफल रह्यो ।यद्यपि डेपुटी सीइओ मणिराम पोखरेलले भने फोन रिसिभ गरेर आफु बिदामा रहेको र यसबारे जानकारी नभएको प्रतिक्रिया दिए ।

अनलाइन बैंकिङ मार्फत खातामा पैसा ट्रान्स्फर भएपछि बैंकको मोबाइल बैंकिङ्ग शाखाले ति व्यक्तिहरुलाई रकम फिर्ता गर्न आग्रह गरिरहेको छ ।तर कतिपयले अटेर गर्दै फिर्ता गरेका छैनन् । ति मध्ये एक सेवा ग्राहीले भने–‘बैंकबाट पैसा फिर्ता नगरे प्रहरी लगाएर पक्राउ गर्ने धम्की आइरहेको छ । बैंकले गल्ती ढाकछोप गर्न हामीलाई थर्काइरहेको छ।’ उता बैंकका कर्मचारीले भने सेवाग्राहीले रकम फिर्ता गर्न थालिसकेको जनाएको छ । तथापि कति रकम फिर्ता भयो भन्ने खुलेको छैन ।बैंकबाट यस्तो गम्भीर त्रुटी हुँदापनि बैंकले जिम्मेवार कर्मचारीमाथि कारबाही गर्नु त कहाँ हो कहाँ उल्टै बैंककै गल्तीवश रकम ट्रान्स्फर हुन पुगेको सेवाग्राहीलाई रकम फिर्ता नगरे जेल हाल्ने धम्की दिइरहेको पाइएको छ ।

प्रभु बैंकका सीइओ शेरचनले व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन नसक्दा कतै बैंकको रकम टाट पल्टिएको संस्थामा लगानी भैरहेको छ त कतै अनावश्यक ठाउँमा बैंकको पैसा खेर गएको छ । यो घटनाले प्रभु बैंकको ४० करोड जती रकम हिनामिना भएको जसमध्ये केही रकम उठेको भनिएपनि उठेको बुझिएको छैन । बैंकभित्र लापरबाही बढ्नुको पछाडी प्रभु बैंककी प्रमुख अपरेटिङ्ग अफिसर रश्मी पन्तको व्यवस्थापकीय कमजोरी मूख्य कारण रहेको बैंकका एक कर्मचारीले अनलाइनपानालाई बताए ।

प्रभुु बैंकमा केही समयदेखि व्यवस्थापन कमजोर बन्दै गइरहेको बैंकभित्रै कार्यरत कर्मचारीहरु गुनासो गर्छन् । एक महिनाअघि बैंकले गरेको हजार जना जती कर्मचारीको बढुवा प्रकृयामा सिईओ अशोक शेरचनले आफू निकट, आफूलाई मन परेका, नातागोताका मान्छे तथा राजनीतिक पावरका कर्मचारीहरुको नियमविपरित बढुवा गरेपछि बैंकभित्रै चर्को विरोध भएको थियो । कर्मचारीको बढुवा यसरी गरिएको थियो कि सीइओका नजिकका र मन पराइएका जागिरमा भर्ना भएको वर्ष दिन पनि नपुगेकाहरु बढुवामा परेका थिए भने सीइओका नजरमा नपरेकाहरु आठ वर्षदेखि काम गरेकाहरु पनि बढुवामा पारिएनन् । असन्तुष्ट कर्मचारीहरुले यो चाल पाएर सशक्त विरोध जनाएपछि बढुवा प्रकृया स्थगित गरियो । अहिले पनि बैंक भित्र भइरहेको पक्षपातपूर्ण व्यवहारले बैंकमा कार्यरत जेहेन्दार कर्मचारीहरु निराश छन् । ‘राति रातिसम्म बैंकमा बसेर काम गर्न पर्छ, तर कामको मूल्यांकन हुँदैन,’ एक कर्मचारीले अनलाइनपानासँग गुनासो गरे ।

हाल बैंकबाट हुने सम्पूर्ण खर्चको जिम्मेवारीसहित प्रशासनिक कार्यको नेतृत्व उनै पन्तले गर्दै आएकी छन् । जसअन्तर्गत स्टेसनरी खरिद, विज्ञापन एजेन्सी सञ्चालन, कर्मचारी सरुवा बढुवामा समेत उनको ठाडो आदेश चल्छ । चिफ अपरेटिभ अफिसरका रुपमा कार्यरत रहेपनि डेपुटी सिइओको हैसियतमा उनले सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी पनि उनैलाई दिइएको छ । पन्तकैे निर्देशनमा डेपुटी सिइओहरुले समेत निरिह भएर काम गर्नुपर्दछ ।

  • याे पनि

देउराली सहकारीको ५ अर्बको सम्पत्ति एक अर्बमै हडप्ने दाउमा प्रभु बैंक, बचतकर्ता चिन्तित

‘पावरफुल’ कर्मचारी रश्मी पन्तले चलाउँछिन् प्रभु बैंक, ‘सिनियर’ डेपुटी सीइओहरु निरिह

सिइओ अशोक शेरचनको स्वार्थले प्रभु बैंकको अर्बौँ रुपैयाँ डुब्ने जोखिममा

किन सेलायो वित्तीय अपराधमा मुछिएका अशोक शेरचनविरुद्ध सीआईबीमा पुगेको मुद्दा ?

कहिले टुंगिएला वित्तीय अपचलनमा मुछिएका प्रभु बैंकका सिईओ शेरचनको मुद्दा ?(भिडियो रिपोर्ट)

 

प्रकाशित मिति : जेष्ठ २४, २०८० बुधबार  ८ : १७ बजे

375
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।