काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले घोराही सिमेन्ट आइपीओ प्रकरणमा छानबीनका लागि निर्देशन दिएको बताएका छन् । करिब साढे २ गुणाले ओभरसब्सक्राइब्ड भइसकेको घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओमा सोमवार पूनः आवेदन दिने म्याद थप गरिएको सूचना प्रकाशित भएपछि लगानीकर्ताहरुले कम्पनीको आइपीओमाथि शंका व्यक्त गरेका छन् ।
कम्पनीको आइपीओमा चलखेल भएको प्रस्ट हुँदापनि नियामकले ध्यान नपुर्याएको भन्दै धितोपत्र बोर्ड र नेप्सेमाथि सर्वसाधारण लगानीकर्ताहरु आक्रोशित भइरहँदा बोर्ड अध्यक्ष हमालले छानबीनका लागि कमिटि गठन गरीसकेको बताएका हुन् ।उनका अनुसार घोराही सिमेन्ट कम्पनी र यसका बिक्री प्रवन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट माथि छानबिनका लागि निर्देशन दिइएको हो ।हमाल भन्छन्– ‘घोराही सिमेन्टको मात्र होइन, अन्य प्रिमियममा आइपीओ जारी गर्ने कम्पनीहरुको पनि छानबिन हुन्छ, सर्वसाधारणले कम्पनीको वास्तविक अवस्था बुझेर लगानी गर्ने वातावरण पाउनुपर्छ,यसका लागि मैले आइक्यानका भाइस प्रेसिडेन्टको नेतृत्वमा कमिटि गठन गर्न निर्देशन गरेको छु।’
घोराही सिमेन्टले आइपीओ खुलाउनको लागि ६ महिनामै कम्पनी नाफामा गएको देखाएर १सयमा पाईने शेयरमा ३सय ३५ रुपैयाँ प्रिमियम थपेर ४सय ३५ मूल्य कायम गरेको थियो । प्रिमियम मूल्यमा आईपीओ जारी गरेको घोराही सिमेन्टको तोकिएको ४ दिनको अवधिमा ओभरसब्सक्राइब्ड हुनु र फेरि कम्पनीले सूचना प्रकाशित गरी म्याद थप्नुलाई शंकास्पद दृष्टिकोणले हेरिएको छ। घोराही सिमेन्टले गत जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।
लगानीकर्ता भन्छन्–’जनतालाई झुक्याउन खोजिएको हो’
शेयर लगानीकर्ता रोहन कार्की घोराही सिमेन्ट आइपीओमा ओभरसब्स्क्राइब्ड नै नक्कली भएको बताउँछन् ।उनी भन्छन्–‘आफैंले शेयर किनेर शेयरको भ्यालु बढेको झैं गरी जनतालाई झुक्याउन खोजिएको हो , नियामकले यसमा कडा कदम चाल्न सक्नुपर्छ ।’
यो आईपीओको निष्कासन बन्द छिटोमा आज असार ४ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो ।तर कम्पनीले शंकास्पद ढंगले आइपीओको म्याद थप गर्दै असार १४ सम्म पुर्याएको छ । एकातिर यो कम्पनीको आईपीओ ओभरसब्सक्राइब्ड भइसकेको छ,तर फेरी समय थपिनुले आईपीओ साँच्चिकै ओभरसब्क्राइब्ड भएको हो त भन्नेमा शंका उब्जिएको छ। केही समय अघिसम्म १ अर्ब २८ करोड विद्युत महशुल तिर्न नसकेको घोराही सिमेन्टले कतै सोझासिधा नागरिकलाई फसाउन त यो चलखेल गरेको होइन शंका उपशंका गरिरहेका छन् ।
कम्पनीले कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको छ। यसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँडफाँड गरेपछि बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्तासमेत थपिएको छ। सीडीएससीका अनुसार सोमवार १२.३०बजेसम्म यो आईपीओमा ४ लाख ४५ हजार ८९० आवेदकबाट कुल १ करोड ७२ लाख ५५ हजार २५० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा २.४९ गुणाले बढी हो।
नेपाल धितोपत्र बोर्डको कानूनमा कुनै पनि कम्पनीको आईपीओ ५० प्रतिशतभन्दा कम सब्सक्राइब्ड भएको अवस्थामा आईपीओ नै रद्द हुने र ५० प्रतिशतभन्दा बढी सब्सक्राइब्ड भएको छ भने आईपीओमा म्याद थप गर्न सकिने नियम रहेको छ ।
झुटो आवेदन परेको पाईएपछि सिडीएससीले दियो कारबाहीको चेतावनी
यसैबीच सिडीएस एण्ड क्लियरिङले घोराही सिमेन्टको आईपिओमा धेरै संख्यामा झुटो आवेदन परेको भन्दै कारबाहीको चेतावनी दिएको छ । एक सूचना जारी गर्दै यसरी आईपिओमा आवेदनको संख्या तथा परिमाणलाई प्रभावित पार्ने कार्य गर्नु जालसाजी युक्त कारोबार हुने भएकोले यस्ता कार्य गर्ने व्यक्ति वा संस्थालाई कारबाही गर्ने चेतावनी सिडीएससीले दिएको हो।

आफ्नो खातामा पैसा नभएको थाहा हुँदा हुँदै आईपिओलाई प्रभावित पार्नको लागि जानाजान अत्याधिक कित्ताको लागि आईपिओमा आवेदन परेको सिडीएसले जनाएको छ । खातामा आफुले आवेदन दिएको शेयरको लागि चाहिने आवश्यक रकम नभएमा उक्त आवेदन फेरिफाई हुँदैन । सिडीएसले त्यसो आवेदनलाई झुटा आवेदन भन्दै कारबाहीको चेतावनी दिएको हो ।
सिडीएससीको सुचनामा भनिएको छ ’संगठित संस्थाले जारी गरेको सार्वजनिक निष्कासनमा आफ्नो बैक खातामा मौज्दात नराखी वा खातामा मौज्दात रहेको भन्दा बढी रकमको आवेदन दिई संस्थाले जारी गरेको धितोपत्रको सार्वजनिक निष्कासनमा प्राप्त आवेदनको संख्या तथा परिमाणलाई प्रभावित पार्ने कार्य गरेमा सो कार्य धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार झूटा एवं जालसाजी युक्त कारोबार हुने भएकोले यस्ता कार्य गर्ने व्यक्ति वा संस्थालाई सो ऐन अनुसार कानुनी कारबाही हुने व्यहोरा जानकारी गराउँदै यस किसिमको कार्य नगर्न नगराउनुहुन सम्बन्धित सम्पूर्णलाई सूचित गराइन्छ ।’
कम्पनी भन्छ–आवेदनहरु प्रमाणित गर्ने कार्य भइरहेकाले आवेदन अवधि थपिएको हो
कम्पनीको आइपीओ प्रकरणबारे कम्पनीसँग बुझ्दा प्राप्त आवेदनहरु प्रमाणित गर्ने कार्य भइरहेकाले आवेदन दिने अवधि थपेर असार १४ गतेसम्म पुर्याइएको दाबी कम्पनीले गरेको छ । तर यसअवधिमा सबै आवेदन प्रमाणित गर्दा माग अनुसार आवेदन प्राप्त भएमा भने असार १४ गते अगावै पनि आवेदन बन्द गर्न सकिने कम्पनीले बताएको छ ।




















प्रतिक्रिया