Logo

अर्थ

भान्छालाई सुरक्षित बनाउन ग्याँसको ‘कम्पोजिट सिलिण्डर’मा भारी भन्सार छुट



काठमाडौं । जनताको भान्छालाई सुरक्षित बनाउनका लागि सरकारले ग्याँसको कम्पोजिट सिलिण्डरमा भारी भन्सार छुट दिएको छ । अहिले चल्तीमा रहेको फलामको सिलिण्डर पड्किएर धेरै दुर्घटना भएकोले सरकारले कम्पोजिट सिलिण्डरको प्रयोग बढाउन उक्त सिलिण्डरमा लाग्ने भन्सारमा ८३ प्रतिशत भन्सार छुट दिने प्रावधान ल्याएको हो ।

सरकारको यो छुटपछि अब कम्पोजिट सिलिण्डरमा ५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तःशुल्क गरी १० प्रतिशत मात्रै कर लाग्ने छ । कम्पोजिट सिलिण्डरको खरिद मूल्य नै महँगो भएकाले अहिलेसम्म नेपालमा यसको प्रयोग अत्यन्तै कम छ । उक्त मूल्य घटाएर उपभोक्तालाई प्रयोग योग्य बनाउनका लागि भन्सार छुट दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

कम्पोजिट सिलिण्डरहरू फाइबर र प्लास्टिकको संयोजनबाट बनेको कारण आगो प्रतिरोधी हुन्छन् । त्यसैले हाल प्रयोगमा रहेको फलामको सिलिण्डरको तुलनामा यस्तो सिलिण्डर आगोमा पर्दा समेत विस्फोट नहुने हुन्छन्। त्यस्तै कम्पोजिट सिलिण्डरहरुमा ग्याँस चुहावट पत्ता लगाउने, बन्द-अफ भल्भ र सुरक्षा सुरक्षा जस्ता केही अन्य सुरक्षा सुविधाहरू हुन्छन् ।

अहिलेसम्म नेपालमा १४.२ केजीको सिलिण्डरको मूल्य ९ हजार २५५ रुपैयाँ र अर्को ५ किलोको सिलिण्डरको मूल्य ६ हजार ९५५ रुपैयाँ पर्ने गरेको थियो। भन्सार छुट दिएपछि यी सिलिण्डर २५ प्रतिशतसम्म कम भएर १४ दशमलव २ केजीको ६ हजार ९ सय ४१ रुपैयाँ र ५ किलोको ५ हजार २ सय १६ रुपैयाँसम्म पर्ने बताइएको छ ।

नेपालमा भारतले नाकाबन्दी लगाएको समयमा बजारमा सिलिण्डरको अभाव हुँदा व्यापारीहरुले काम नलाग्ने भनेर थन्क्याएका फलामका सिलिण्डरहरुलाई रंगरोगन गरेर प्रयोगमा ल्याएका थिए । हजारौंको संख्यामा रहेका ती सिलिण्डरहरु अहिले उपभोक्ताको भान्छामा छन् । त्यसैले बेलाबेला ति सिलिण्डर पड्केर दुर्घटना हुने र ठूलो धनजनको क्षती भैरहेको छ ।

जनतालाई उक्त क्षतीबाट जोगाउन सरकारले सुरक्षित सिलिण्डरको प्रयोग बढाउन खोजेपनि केही व्यवसायी भने त्यसको बिरुद्ध लागेका छन् । व्यापारीहरुले सरकारले जनताका लागि दिएको छुटलाई केही ग्यास उद्योगसँग जोडेर गलत प्रचार गर्न थालेका छन् ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलवार १४:४५   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।