काठमाडौं । पुरुष साफ च्याम्पियनसिप फुटबलको १४औं संस्करण आज (बुधबार)बाट सुरु हुँदैछ । भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियम मा आयोजना हुने साफमा ८ राष्ट्रको सहभागिता रहेको छ।
यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । यस संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेल्ने छन् ।
साफको उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको नेपालले आज बलियो टोली कुवेतविरुद्ध प्रतिस्पर्धा गर्नेछ । साविक उपविजेता समेत रहेको नेपाल र कुवेतबीचको उद्घाटन खेल नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ ।
नेपाल आज कुवेतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ । तर, बलियो टोली कुवेतविरुद्ध नेपाली सहज हुने छैन । कुवेत र नेपालबीच पछिल्लो पटक गत वर्षको जेठमा प्रतिस्पर्धा भएको थियो ।
एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत कुवेतमा भएको खेलमा नेपाललाई घरेलु टोलीले ४–१ गोल अन्तरले हराएको थियो । नेपाल र कुवेतबीच हालसम्म ९ खेल भएको छ । जसमा ८ खेल कुवेतले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ ।
यस्तै भारत र पाकिस्तानबीच समेत आजै प्रतिस्पर्धा हुनेछ ।




















प्रतिक्रिया