काठमाडौं । आमजनता पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभाका सदस्य प्रभु साहले युवा पुस्तालाई कृषि पेसामा आकर्षित नगरी चाहेजस्तो नेपाल निर्माण सम्भव नरहेको औंल्याएका छन् । शिक्षित र पढेलेखेका मान्छेहरू कृषि पेसामा लाग्नै छाडेको बताउँदै उनले सरकारले बजेटमा कृषि क्षेत्र र किसानलाई सम्मान गर्ने कार्यक्रम नल्याएको बताए ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद साहले भने, ‘पहिले–पहिले कृषि पेसामा पैसा भएको मान्छे, पढेलेखेका मान्छेहरू पनि हुन्थे । तर अहिले पढेलेखेको मान्छेले कृषि कर्म गर्नै हुँदैन भनेजस्तो भएको छ । अहिले पढेलेखेका मान्छेहरू कृषिमा छैनन्, पैसा भएका मान्छेहरूको लगानी कृषिमा छैन । कृषि त मजबुरीको पेसा भएको छ । मान्छे बाध्य भएर मात्रै कृषि गरिरहेको छ ।’
उनले ६५ प्रतिशत नागरिक कृषि पेसामा आबद्ध भएको देशमा कृषि र किसानलक्षित ठोस कार्यक्रमबिनाको बजेट आउनु दुःखद भएको बताए । उनले प्रश्न गरे, ‘हामीले यदि कृषिमा युवाहरूलाई आकर्षित गर्न नसक्ने हो र किसानलाई सम्मान नगर्ने हो भने के हामीले चाहेको जस्तो नेपाल निर्माण कसरी सम्भव छ ?’
सांसद साहले किसानलाई पेन्सन दिने व्यवस्था गर्नुपर्ने माग गरे । कृषि नै देशको मूल आम्दानीको स्रोत भएपनि यस क्षेत्रमा लगानी भने कम रहेको बताए । ‘किसानले बैंकबाट ऋण पाउँदैन, बिऊ पाउँदैन, मल पाउँदैन, बजार पनि पाउँदैन । नोक्सान हुँदा पनि किसानले त्यो पेसा छाड्न सकेको अवस्था छैन, राज्यले पनि उसलाई सहयोग र सम्मान नदिने हो भने उसले किन कृषि पेसा गरिरहने ?’ उनले भने, ‘सरकारले किसानलाई पेन्सन दिने व्यवस्था गरौँ ।’
उनले देशलाई चुसेर महल ठड्याउनेहरूलाई भन्दा पसिना बगाएर देशको ढुकुटीमा योगदान गर्नेहरूलाई पेन्सन दिनु उपयुक्त हुने बताए । लाग्दैन ।’




















प्रतिक्रिया